> समाज > ‘मानवीय त्रुटिबाट हुने दुर्घटना रोक्न सकिन्छ’


‘मानवीय त्रुटिबाट हुने दुर्घटना रोक्न सकिन्छ’

सवारी दुर्घटना कम गर्न चालकहरुलाई प्रशिक्षण
प्यूठान समाचार सम्वाददाता
प्यूठान, २५ माघ ।
सवारी दुर्घटना न्युनिकरणका लागि चालकहरुलाई प्रशिक्षण दिईएको छ । प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्की र जिल्ला न्यायाधिवक्ता शिवप्रसाद पोख्रेलले प्रशिक्षण दिनुभएको हो ।
मानविय त्रुटिका कारण हुने दुर्घटना रोक्नका लागि सवै जिम्मेवार हुनुपर्ने प्रहरी प्रमुख कार्कीले बताउनुभयो । चालक, यात्रु र प्राविधिक कारणले हुने दुर्घटनामा गम्भिर हुन सके धेरै दुर्घटना रोक्न सकिने उहाँको भनाई थियो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गर्ने क्रममा शनिवार चालकहरुलाई यस्तो प्रशिक्षणको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै सरकारी वकील कार्यालयका जिल्ला न्यायधिवक्ता शिवप्रसाद पोख्रेलले अन्र्तक्रिया कार्यक्रममा कानुनी प्रावधानका बारेमा जानकारी गराउनुभएको छ । दुर्घटना भएपछि अदालतमा मुद्धा पेश हुदाँसम्मका प्रक्रियाका बारेमा उहाँले प्रशिक्षण दिनुभएको हो । लापरवाहीका कारण हुने दुर्घटनामा कसैको ज्यान गएमा जन्म कैद (२५ वर्ष) जेल सजाए हुने उहाँले बताउनुभयो ।
स्वर्गद्धारी गौमुखि यातायात प्रालिको सभाहल जुम्रिमा भएको कार्यक्रमको आयोजना जिल्ला प्रहरी कार्यालय प्यूठान, जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थान प्यूठान र स्वर्गद्धारी गौमुखि यातायात प्रालिले सयुंक्त रुपमा गरेका हुन् ।
कार्यक्रमको उद्घाटनमा सत्रमा बोल्दै प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतीले सवारी दुर्घटना न्युनिकरणका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । जिल्लाका सडकहरु साघुरा भएकाले दुर्घटना हुने भन्दै सडक बिस्तार गर्नुपर्नेमा उहाँको जोड थियो । यस्तै बाग्दुला र विजुवार चोकमा घण्टौ जाम हुने भएकाले ट्राफिक जाम हटाउनका लागि पार्किङको व्यवस्था गराउने योजना समेत उहाँले सुनाउनुभयो ।
कार्यक्रम उपलब्धीपूर्ण भएको बताउँदै स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष सुनिल बस्नेतले यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष ०७६÷०७७ को हालसम्म २१ लाख ५६ हजार ५ सय रुपैया राजश्व संकलन गरेको जनाएको छ । त्यस्तै सवारी दुर्घटनामा परि चालु आर्थिक वर्षको पुस सम्ममा पाँच जना विरुद्ध मुद्धा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । यस आर्थिक वर्षमा सवारी दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा दुर्घटनाबाट १४ जनाको मृत्यु
गत आर्थिक वर्ष ०७५÷०७६ मा ३८ वटा सवारी दुर्घटनाबाट १४ जनाको मृत्यु भएको छ । १६ सवारी साधन क्षेती भएका छन् । बस एक, ट्रकटिपर तीन, जिपकार १५, ट्याक्टर चार, टेम्पो दुई मोटरसाइकल १३ अन्य दुई गरेर जम्मा ३८ सवारी दुर्घटा भएको ट्राफिक प्रमुख मधु थापाले बताउनुभयो । जसमा नौ जना पुरुष, महिला तीन, बालक १, बालिका १ गरेर जम्मा १४ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनाबाट १२ जना पुरुष, महिला दुई, बालक तीन र बालिका एक गरेर जम्मा १८ जना गम्भीर घाईते भएका थिए । यसैगरी २१ जना पुरुष, महिला ६, बालक तीन, बालिका एक गरेर जम्मा ३१ जना दुर्घटनाबाट सामान्य घाईते भएको उहाँले बताउनुभयो ।
के कारणले दुर्घटना हुन्छन त?
चालकको लापरर्वाही, ओभरटेक, तिब्र गति, मापसे गरेर सवारी चलाउनु, सवारी चलाउदा मोबाईल फोनको प्रयोग गर्दा, यान्त्रीक गडबढी, ओभरलोड, छाडा पशुचौपाया, सडकको दुराअबस्था, मापसेका गरे सवारी चलाउनु र कतिपय अबस्थामा यात्रुको कारणले पनि सवारी दुर्घट्ना हुने गरेको ट्राफिक प्रमुख थापाले बताउनुभयो ।
जिल्लाको कस्ता ठाउँमा कढी दुर्घटना हन्छन्
जिल्लाका पहाडि क्षेत्र भएका बढी कर्नरमा दुर्घटना हुने गरेको प्रमुख थापाले बताउनुभयो । यसैगरी घुम्ती भएको ठाउँमा, ओरालो, पानी परेको समयमा, साघुरोबाटो भएका कारण लगाएतका ठाउँहरुमा बढी दुर्घटना हुने गरेको उहाँको भनाई छ ।
न्युनिकरणका लागि सचेतनाका कार्यक्रम जारी
जिल्लामा न्युनिकरणका लागि विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन जारी रहेको छ । चालकलाई दुई मिनेट प्रशिक्षण कार्यक्रम, यात्रुमैत्रि व्ययहारका लागि कार्यक्रम, चालकको आँखा जाँच, दैनिक रुपमा सवारी साधन चेकजाँच, नागरिक कहाँ घरदैलो कार्यक्रम गर्दै आएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *