झिमरुक । झिमरुकले न्याय सम्पादनको कामलाई जनमुखी र थप प्रभावकारी बनाउने उदेश्यले स्थानीय मेलमिलाप कर्तालाई आधारभुतको तालिम दिएको छ।
जनतालाई स्थानीय स्तरबाटै न्यायीक निरुपणमा सहजता पुगोस् भन्ने उदेश्यले र दक्ष जनशक्ति उत्पादन गरि स्थानीय मेलमिलापकर्ताको माध्यमबाट जनताको न्याय निरुपणमा आधारभुत तालिम फलदायी हुने अपेक्षा सहित पालिकाले तालिम सन्चालन गरेको हो ।
बुधबार मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गाउँटोलमा हुने साना साना विवाद र समस्या निराकरण गर्न यस प्रकारको तालिम सहयोगी हुने बताउनुभयो ।
राज्य पुर्न संरचना पछि स्थानीय तहलाई न्यायीक निरुपणको जिम्मेवारी दिए संगै स्थानीय तहबाटै समुदायस्तरमा हुने विभिन्न किसिमका स-साना विवादलाई छलफलको माध्यमबाट मेलमिलाप गराउदै न्याय निरुपण गरिदै आएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक प्रमोद पोख्रेलले बताउनुभयो ।
स्थानीय तहमा परेका उजुरीका निवेदनमा जनशक्ति अभावमा समयमै छलफल र मेलमिलाप गराउन नसक्दा त्यसले समस्या उत्पन्न हुने भन्दै सहजताको लागि यो तालिम फलदायी हुने उपाध्यक्ष पोख्रेलले बताउनुभयो ।
मेलमिलापकर्तामा सैद्धान्तिक, व्यवहारीक ज्ञान हुनुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले तालिमपछि सहभागीलाई समुदायस्तरमा न्याय सम्पादनमा सहजता हुने बताउनुभयो ।
८ दिन सम्म चल्ने तालिममा मेलमिलापकाेे आवश्यकता, प्रक्रिया, विवाद समाधानका उपाय, पद्धति कानुनी अधिकार र क्षेत्र लगायतको बिषयमा सहभागीलाई प्रशिक्षण दिइनेछ।
पालिकाका आठ वटै वडाका करिब ३० जना प्रशिक्षार्थी सहभागी रहेकाे तालिमको प्रशिक्षकमा वरिष्ठ अधिवक्ता कुमार आचार्य र अधिवक्ता रमिला हुमागाईले सहजीकरण गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा न्यायिक समितिका सदस्य सिताराम पाेख्रेलको स्वागत र न्यायिक समितिका कर्मचारी यामलाल पोख्रेलले सञ्चालन गर्नुभएको थियो ।
