प्युठान । ‘खलंगा सरोकार समुह’ नामक एक फेसबुक पेजले सामाजिक काम गर्दै आएको छ । सहयोग संकलन, पैरवी, उत्प्रेरणा जगाउँदै आएको उक्त समुहले हालसम्म १५ जना व्यक्तिको उपचारका लागि सहयोग जुटाएको छ ।
“हालसम्म १५ जना व्यक्तिको उपचारमा सहयोग जुटेको छ”समुहका संयोजक मनोज कुमार श्रेष्ठले भन्नुभयो, “३६ लाख ४ हजार १६ रुपियाँ सहयोग उठेछ ।” २०७७ कात्तिक देखि २०७९ चैतसम्म उक्त रकम संकलन भएको हो । खलंगा सरोकार समुहको फेसबुक पेजबाट भएको सामाजिक कार्यले आफूलाई गर्व महशुस भएको श्रेष्ठको भनाई छ । दुई वटा संस्थालाई संस्थागत सहयोग जुटेको उहाँले बताउनुभयो ।
सहयोग संकलन मात्र नभएर विभिन्न संरचना निर्माणमा प्रेरणादायी भूमिका समेत निर्वाह गरेको छ । मल्लरानी गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा भौतिक संरचना निर्माणका लागि लाखौं रकम जुटेको श्रेष्ठले बताउनुभयो । “हामीले उत्प्रेरणा मात्रै जगाएको हो” उहाँले थप्नुभयो, “दाताहरुले स्वेच्छिक रुपमा सहयोग गरिरहनुभएको छ ।”
आगामी दिनमा पनि विभिन्न प्रकारका समाजिक अभियान सञ्चालन गरिने संयोजक श्रेष्ठले बताउनुभयो । त्यसका लागि पनि सवै सहयोगीको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाई छ । सामाजिक कार्यका लागि एउटा सामाजिक सञ्जालले समेत ठूलो काम गर्ने उदाहरण समेत बनेको छ, खलंगा सरोकार समुह ।