झइन्द्र भण्डारी
प्यूठान, १३ बैशाख ।
स्वर्गद्वारी नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा लकडाउनको समयमा नगरबासीलाई आइपर्ने संकटलाई मध्यनजर गर्दै स्थापना गरेको कोरना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग दाताहरुले सहयोग जारी राखेका छन् । शनिबार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ जलुके निवासी सेतुराम गोराथोकीले ५१ हजार एक सय ५१ रुपियाँ नगद सहयोग गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सल्लाहकार समेत रहनुभएका गोराथोकीले उक्त रकम नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीलाई हस्तान्तरण गर्दै आफूल दिएको रकम लकडाउनको समयमा विपन्न मजदुरहरूलाई परेको खाद्य तथा अन्य संकटको निराकरण गर्नको लागि सदुपयोग गर्न आग्रह समेत गर्नुभयो । नगर प्रमुख रोका क्षेत्रीले गोराथोकीलाई विशेष धन्यवाद दिदै संकटको घडीमा हातेमालो गरेकोमा आभार व्यक्त गर्नुभयो ।
यसैबीच, नेकपाका उपाध्यक्ष बामदेव गौतम मार्फत विभिन्न दाताहरूबाट संकलित स्वास्थ्य सामाग्री स्वर्गद्वारी नगरपालिकालाई हस्तान्तरण गरेको छ । नेकपा प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले विविध स्वास्थ्य सामाग्री नगरप्रमुख रोकाक्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
दुई हजार थान माक्स, दुई प्याकेट हेडक्याप, नौ थान पिपिई र ९० थान सेनिटाईजर रहेका छन् । नेकपाले सामाग्री जिल्लाका सवै पालिकामा पुगेर हस्तान्तरण गरेको छ ।