प्यूठान । सीमा जोडिएको प्युठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । आपसी हित र साझा समस्यालाई मिलेर समाधान गर्ने उदेश्यले गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी र मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सीमा जोडिएका दुई पालिकाले पर्यटन प्रर्वद्धन, पूर्वाधार विकासदेखी खानेपानी समस्या समाधान लगायतका क्षेत्रमा मिलेर काम गर्ने समझदारी गरेका हुन । स्थानीय तह सञ्चालन ऐन अनुसार दुई पालिकाको साझा मुद्धालाई मिलेर समाधान गर्न अन्तर स्थानीय तह सहकार्य गर्न थालिएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताउुनुभयो । यो समझदारीबाट दुवै पालिकाको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
समझदारी पत्रमा कृषि उपजहरुको बजारीकरण, कृषि तथा पशुपालनमा अपनाइएका ज्ञान, सीप, प्रविधिको आदानप्रदान, पर्यटन पूर्वाधारको निर्माण, खानेपानी समस्या समाधान, सडक स्तरोन्नती लगायतका बुँदा उल्लेख छन् ।
समझदारी भएका विषयको कार्यान्वयनका लागि दुवै पालिकाबाट सात सदस्यीय समिति गठन गरिएको छ । मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुँवर र गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी सहितको समिति बनेको छ । गौमुखी गाउँपालिकाको १, २ र ३ वडा जान मदाने गाउँपालिकाको अग्लुङ भएर जानुपर्छ ।