> समाज > भागवण्डा नमिलेपछि चित्तलको जिवितै उद्धार


भागवण्डा नमिलेपछि चित्तलको जिवितै उद्धार

दाङ, ११ बैशाख ।
चित्तल मारेर लगाइने भागवण्डाको विषयमा विवाद भएपछि डिभिजन वन कार्यालय दाङको टोलीले चित्तलको जिवितै उद्धार गर्न सफल भएको छ । तुल्सीपुर उपमहानगरपालिका–१५ पतकौली स्थित घडेरीडाँडा सामुदायिक वन क्षेत्रबाट विहीबार दिउँसो चित्तलको जिवितै उद्धार गरिएको कार्यालय प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।
डिभिजनल प्रमुख ज्ञवालीका अनुसार नदी उकास क्षेत्रमा बृक्षरोपण गरी वन कायम भएपछि लकडाउनका समयमा गाउँनजिकै रहेको वनमा चर्न आएको चित्तललाई गाउँका युवाहरुले सिकार गर्ने क्रममा घाइते बनाएका थिए । घाइते अवस्थामा चित्तलको उद्धार गरिएको हो ।
स्थानीय दुई गाउँका युवाहरुले चार वटा कुकुरको प्रयोग गरेर चित्तललाई लखेटिलखेटि मार्न लागेको भन्ने सुराकी पाएपछि वन अधिकृत ज्ञवालीको नेतृत्वमा गएको टोलीले चित्तललाई फेला पारेको हो । दुई गाउँका युवाहरुले चित्तललाई पक्राउ गरेको र उक्त चित्तल मारेर लगाइने भागबण्डाको बिषयमा बिवाद भएपछि चित्तल पक्राउ गरिएको घटना बाहिर आएको थियो ।
टोलीले चित्तललाई पक्रेर सामुदायिक वन भवनको कोठामा थुनेको अवस्थामा फेला पारेको थियो । उद्धार गरिएको चित्तललाई अहिले डिभिजन वन कार्यालय दाङको उद्धार कक्षमा राखि औषधी उपचार शुरु गरिएको छ । घटनामा संलग्न भएकाहरुको खोजी कार्य तिव्र पारिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *