प्युठान । स्वर्गद्वारी प्युठान पाचौं महोत्सव -२०७९ आजदेखी शुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले महोत्सवको उद्घाटन गर्नुभएको हो ।
महोत्सव उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले प्रदेशकै प्रमुख गौरवको योजनाको रुपमा रहेको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बाग्दुला- भिमगिठे सडकको निर्माण प्रक्रियामा लैजान पहल थाल्ने बताउनुभयो ।
मुख्यमन्त्री गिरीले देशमा देखिएको अर्थतन्त्रको समस्या तीन महिना भित्र समाधान हुने दावी गर्नुभयो । संघ सरकारले यस बिषयमा निती बनाउन कृयाशिल रहेको उल्लेख गर्नुभयो ।
उहाँले किसानको क्रयशक्ति बढाउने गरी प्रदेश सरकार, स्थानीय सरकार र निजि क्षेत्र मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक रेमिटेन्सको भरमा चलेको बताउँदै आत्मनिर्भर हुने गरी कृषि क्षेत्रको बिकास गर्न प्रदेश सरकारले निती बनाउन लागेको जानकारी दिनुभयो ।
प्रमुख अतिथि गिरीलाई आयोजकले ७ सुत्रीए माग पेश गरेको छ । नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना, बाग्दुला भिमगिठे सडक लगायतका बिकासका योजना अघि बढाउन माग गरिएको छ ।
लुम्बिनी प्रदेश स्तरीय महोत्सवमा करिब आठ करोड रुपियाँको कारोबार हुने मुल आयोजक समितिका सदस्य तथा प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताउनुभयो । यस महोत्सवबाट संकलन हुने रकमबाट वाणिज्य सभाहल र प्रदर्शनी स्थल निर्माण गरिने लक्ष्य राखिएको अध्यक्ष नकर्मीले बताउनुभयो ।
