प्यूठान । संघीयताको खारेजीको माग गर्दै आएको राष्ट्रिय जनमोर्चाले पालिका स्तरमा विरोधका कार्यक्रम गर्ने भएको छ ।‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मुल नाराका साथ जिल्लाका सवै पालिकामा विरोध कार्यक्रम तय गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
आज बाग्दुलामा भएको पत्रकार भेटघाटमा जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्काले माघ १८ गतेदेखी फागुन ३ गतेसम्म विरोधका कार्यक्रम तय भएको जानकारी दिनुभयो । जनताप्रति सरकार कहिले पनि जवाफदेही हुन नसकेको भन्दै उहाँले जनतासामु संघर्ष बाहेक अर्को विकल्प नरहेको बताउनुभयो ।
संघीयता आउटडेटेड मोडल हो ः नेता खत्री
राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले संघीयता नेपालबाट हट्नुको विकल्प नरहेको बताउनु भएको छ ।
पत्रकार भेटघाटमा बोल्दै नेता खत्रीले संघीयता विकासको ‘आउटडेटेड मोडल’ भएको उल्लेख गर्दै विश्वका ४ वटा मुलुकमा मात्र संघीयता सफल भएको बताउनुभयो । संघीयता लागु भएका विश्वका ९० वटा मुलुकबाट अहिले २८ वटा मुलुकमा झरेको उहाँको भनाई छ ।
नेपालमा विदेशीको दवावमा संघीयता लागु गरिएको भन्दै उहाँले आफ्नो पार्टीले निरन्तर यसको खारेजीको लागि कदम चालिरहेको उल्लेख गर्दै अन्तिममा नेपालबाट संघीयताको विदाई हुने उहाँले दावी गर्नुभयो ।
पाँचौ जिल्ला सम्मेलन बैशाखमा
राष्ट्रिय जनमोर्चाको पाँचौ जिल्ला सम्मेलन आगामी वर्षको बैशाखमा हुने भएको छ । बैशाख २९ र ३० गते खलंगामा सम्मेलन तय गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।