> आर्थिक > स्वर्गद्धारीमा सामाजिक सुरक्षा भत्ता वितरण


स्वर्गद्धारीमा सामाजिक सुरक्षा भत्ता वितरण

सुजल श्रेष्ठ

प्यूठान, ९ वैशाख ।
स्वर्गद्धारी नगरपालिकाले आफ्नो पालिका भित्रका सामाजिक सुरक्षा पाउने व्यक्तिलाई घरघरै पुगेर रकम उपलब्ध गराउन थालेको छ । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन जारी राखेकाले नगरपालिकाले भत्ता पाउने लक्षित वर्गलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
लकडाउनले पारेको आर्थिक समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले सवै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । घरघरै पुगेर भत्ता वितरण थालिएको छ, ५ नम्वर वडाका वडा अध्यक्ष हिरामणी भण्डारीले भन्नुभयो,दोस्रो चौमासिकको रकम वितरण शुरु गरेका छौं । फागुनमा बैङ्कबाट वितरण गर्ने तयारी गरिएकोमा ढिला भएकाले घरघरै पुगेर उपलब्ध गराउन थालेको उहाँले बताउनुभयो ।
वडा सचिवको नाममा पेश्की रकम निकालेर वितरण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
जेष्ठ नागरिक, एकल, अपाङ्गता, दलित बालबालिका गरि वडामा ३६८ जना रहेका छन् । जेष्ठ नागरिकले मासिक तीन हजार, एकलले मासिक दुई हजार, पूर्ण अपाङ्गले मासिक तीन हजार, आंशिक अपाङ्गले मासिक एक हजार छ सय, दलित बालबालिकाले मासिक चार सयका दरले सामाजिक सुरक्षा भत्ता पाउने गर्दछन् । एक घरका पाँच वर्ष मुनिका दुई जनासम्म दलित बालबालिकाले भत्ता पाउँछन्, अध्यक्ष भण्डारीले भन्नुभयो ।
बैङ्किङ प्रणालीबाट वितरण गर्नका लागि नेपाल बैङ्कसँग तीन वर्षको सम्झौता भएको थियो । हाल लकडाउनले समस्या भएपछि कार्यपालिकाको निर्णय अनुसार रकम वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्यले बताउनुभयो । उहाँले पालिकाभर करिव तीन हजार तीन सय व्यक्तिले भत्ता पाउने उल्लेख गर्नुभयो । सवै वडामा वडा सचिवले पेश्की लिएर वडा अध्यक्षको रोहबरमा घरघरमा पुगेर बाड्ने काम भएको छ, उहाँले भन्नुभयो, सावधानी अपनाएर वितरण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *