> स्थानीय सरकार > कोहलपुर जान पैदल हिडेका मजदुरको प्यूठानबाट उद्धार


कोहलपुर जान पैदल हिडेका मजदुरको प्यूठानबाट उद्धार

एलबी थापा
प्यूठान, ६ बैशाख ।

बाँकेको कोहलपुर पुग्नका लागि पैदल हिड्दै आएका मजदुरलाई गौमुखी गाउँपालिकाले उद्धार गरेको छ । बाग्लुङ र गुल्मीको सीमानामा पर्ने शान्तिपुरबाट हिड्दै आएका १५ जना मजदुरलाई पालिकाले पुँजा लिवासेबाट उद्धार गरी गाडीको व्यवस्था गरेको छ ।
सडकको कामका लागि गएका मजदुर लकडाउनले गर्दा खानबस्न समस्या भएपछि हिड्दै कोहलपुर जान थालेका थिए ।

उनीहरु आईतबार साँझ पुँजा लिवासे आइपुगेका हुन् । हिजो साँझ र आज विहान खाना र बस्नको व्यवस्था गरेका थियौं, गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले भन्नुभयो, अहिले गाडीको व्यवस्था गरेर दाङको सीमानासम्म पठाएका छौं । त्यहाँबाट राप्ती गाउँपालिकाले बाँकेको कुसुमसम्म पु¥याउने उहाँले जानकारी दिनुभयो । कुसुमबाट कोहलपुरसम्म त्यहाँको स्थानीय तहले लैजाने गरि समन्वय भएको अध्यक्ष गिरीले बताउनुभयो ।

सरकारले पैदलयात्रीलाई खान बस्न र गन्तव्यका लागि सहजीकरण गर्न भनिसकेको अवस्थामा पालिकाले पनि उक्त कार्य अघि बढाएको अध्यक्ष गिरीको भनाई छ । पाँच नम्वर प्रदेशले समेत पैदल हिडेका व्यक्तिलाई खान, बस्नको व्यवस्थापन गर्न भनिसकेको छ ।
१५ जना टोलीको नेतृत्व लाल बहादुर विकले गर्नुभएको छ । त्यो टोली शान्तिपुरबाट विहान एक छाक खाना खाएर हिडेको थियो । बाटोमा चाउचाउ, चिउरा, पानीको भरमा लिवासेसम्म आइपुगेको लाल बहादुर विकले बताउनुभयो । बन्द भएपछि १५ दिनसम्म उतै बस्यौ, उहाँले भन्नुभयो, त्यसपछि उपाय नलागेर हिड्दै आएका हौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!