प्यूठान । स्वर्गद्वारी नगरपालिका-१ कोचिवाङको विकासका लागि स्थानीय मतदाताले ११ सुत्रिए माग राखेका छन् । स्थानीय हेम बहादुर पुन र कुल बहादुर पुनले प्रतिनिधि सभाका उम्मेदवार सूर्य थापालाई गाउँको विकाससँग सम्वन्धित ११ सुत्रिए माग बुझाउनुभएको छ ।
‘स्थानीयले ठूला माग करौडौ रुपियाँ लाग्ने माग राख्नुभएको छैन,’ उम्मेदवार थापाले मागपत्र बुझेपछि भन्नुभयो, ‘केहि लाखले पुग्ने, केहि काम गर्दा व्यवस्थित हुने योजना माग गर्नुभएको छ, कोचिवाङलाई दाङसँग जोड्ने, कोचिवाङलाई देविस्थानसँग जोड्ने, कोचिवाङलाई रोल्पासँग जोड्ने, कोचिवाङको अध्यारोलाई हटाएर उज्यालो बनाउने, त्यसलाई हामी पुरा गर्छौं ।’

एमालेबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएका थापाले जिल्लाका ६४ वटै वडामा पुगेर पार्टी कार्यकर्ता, मतदातासँग भेट गर्नुभएको छ । वडा-वडाका कार्यक्रममा पुग्दा मतदाताले आफूलाई विश्वास गरेर विभिन्न विकास निर्माण, सेवा प्रवाह लगायतका काम गर्न लिखित रुपमै मागपत्र पेश गरेको थापा बताउनुहुन्छ ।

ऐरावती गाउँपालिका-६ विजुलीमा पुग्दा थापालाई स्थानीय डिल बहादुर राउतले १२ सुत्रिए माग बुझाउनुभएको छ । लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्ने, पक्की पुल निर्माण लगायतका माग विजुलीवासीको आवश्यकताको आधारमा राखेको राउतले बताउनुभयो । ‘२ वटा पक्की पुललाई प्राथमिकतामा राखेर मागपत्र दिनुभएको छ,’ थापाले भन्नुभयो,‘निर्वाचत जितिसकेपछि पक्कीपुललाई प्रक्रियामा लैजानेछौं । विद्यालय, स्वास्थ्यचौकी, मोटरबाटोको स्तरोन्नती लगायतका माग समेटिएको छ ।
उम्मेदवार थापाले आफूप्रति मतदाताको विश्वास रहेको भन्दै सोही अनुरुप वडा-वडाका मतदाताले अधुरा काम, हुन नसकेका काम, स्थानीयको आवश्यकताको आधारमा मागहरु राखेको बताउनुभयो । आफूले प्राप्त गरेका मागहरुमा समेटिएका कतिपय योजना गठबन्धन सरकारले कटौती गरेकाले आगामी दिन पुनः बजेट सहित कार्यान्वयन गरिने बताउनुभयो । समग्र जिल्लाको विकासका लागि प्रतिवद्धता पत्र समेत सार्वजनिक गरिएको बताउँदै उहाँले जिल्लामा सवैको अपनत्व हुने गरि विकास निर्माणको काम अघि बढाइने उल्लेख गर्नुभयो ।






