> राजनीति > सहिदलाई सम्झिएको त्यो क्षण : विरासत एमालेसँगै


सहिदलाई सम्झिएको त्यो क्षण : विरासत एमालेसँगै

प्यूठान । माण्डवी गाउँपालिका-५ तिघ्रा स्थायीवासी मित्रमणी आचार्यको राजनीतिक प्रतिशोधका कारणले २०४२ सालमा चितवनमा हत्या भएको थियो । नेकपा मसालको विद्यार्थी संगठन अनेरास्ववियु (छैठौ) का नेता आचार्यले रामपुर क्याम्पस चितवनमा सहादत प्राप्त गर्नुभएको थियो ।

 


ऐरावती गाउँपालिका-१ दाङवाङ स्थायी निवासी टंक आचार्य, २०४६ सालको प्रथम जनआन्दोलनको क्रममा काठमाण्डौंमा मारिनुभयो ।
जनआन्दोलन २०६२/०६३ का प्रथम सहिद हुन्, उमेशचन्द्र थापा । ऐरावती गाउँपालिका-२ बरौला स्थायी बसोवासी थापा राजा ज्ञानेन्द्रले घोषणा गरेको कथित स्थानीय निकायको निर्वाचन बहिष्कार आन्दोलनका क्रममा दाङमा मारिनुभएको थियो ।

तीनै सहिदहरुको विरात अहिले एमालेसँग छ । सहिद परिवारका सदस्यहरु यतिवेला नेकपा (एमाले)मा संगठित तथा समर्थित छन् ।
देश र जनताको लागि योगदान दिन सक्ने नेतृत्व अहिलेको आवश्यकता रहेको शहिद टंक आचार्यका दाजु तेजप्रसाद आचार्य बताउनुभयो । प्रगतिशिल विचारधाराले नै यसको नेतृत्व गर्न सक्ने भएकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्यूठानी जनताले विवेकको मत प्रयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्यूठान समाचारसँगको कुराकानीमा उहाँले प्रतिक्रियावादीहरुले जनताको आवश्यकता र देशका लागि योगदान गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

सहिद मित्रमणी आचार्यका दाजु टोपाराम आचार्य, सहिद टंक आचार्यका दाजु तेजप्रसाद आचार्य र सहिद उमेशचन्द्र थापाका दाजु सुरेश थापा एमालेमा संगठित तथा आवद्धता रहेको एमाले प्यूठानले जनाएको छ । टोपाराम आचार्य र सुरेशचन्द्र थापा एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहनुभएको छ ।

 


सहिद उमेशचन्द्र थापाको स्मृतिमा बरौंलामा पार्क, विजुवारमा स्मृति भवन निर्माण गरिएको छ । सहिद मित्रमणिको सम्झनामा विजुवार चोकमा शालिक निर्माण गरिएको छ । सहिद टंक-मित्रमणिको सम्झनामा खलंगामा भवन निर्माण गरिएको छ ।

 

आईतबार प्रतिनिधि तथा प्रदेश सभाको मनोनयन दर्ता अघि एमाले उम्मेदवारहरुले सहिदको सम्झना गरेका छन् । उमेशचन्द्र स्मृति भवनमा सहिदको फोटोमा, विजुवार चोकमा मित्रमणिको शालिकमा र गाँजुरीमा रहेको सहिद पार्कमा सहिदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।

माल्यार्पणको उक्त क्षण आफैमा गौरवमय रहेको प्रतिनिधि सभाका उम्मेदवार सूर्य थापाले बताउनुभयो । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘सहिदहरुको बलिदानले हामीलाई आजको उदत्त परिवेश उपलब्ध भएको स्मरण मात्रले पनि सबैलाई स्पष्टताका साथ अगाडि बढ्न प्रेरित गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *