प्यूठान । प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि देशभर आईतबार मनोनयन दर्ताको कार्यक्रम भयो । प्यूठानमा पनि मनोनयन दर्ता भएको छ । मुख्य गरि नेकपा (एमाले) र गठनबन्धनका उम्मेदवार वीच नै प्रतिष्पार्धा हुने देखिएको छ ।
प्रतिनिधि सभाका लागि नेकपा (एमाले)ले पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापालाई उम्मेदवार बनाएको छ भने गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार हुनुहुन्छ । आईतबार मनोनयन दर्ताको क्रममा दुई उम्मेदवार वीच भेट भयो ।
थापा मनोनयन पत्र दर्ता गराएर बाहिरिँदै गर्दा पौडेलले आफ्नो मनोनयन पत्र बुझाउँदै हुनुहुन्थ्यो । अभिवादन र सान्चो/विसन्चो सोध्दै थापाले पौडेललाई भन्नुभयो, ‘कहिले एमालेसँग, कहिले कांग्रेससँग….’
जवाफमा पौडेलले भन्नुभयो, ‘तपाईहरु पनि त राप्रपासँग….. ।’ तत्कालै थापाले जवाफ फर्काउनुभयो, ‘त्यो त देशभरमा तीन सिटमा हो ।’
सहभागीहरुको आग्रहमा दुई उम्मेदवारले तस्विर खिचाउनुभयो र छुटिनुभयो ।
राजमो नेता बोमबहादुरलाई थापाको अर्को कटाक्ष ः
पौडेलसँग छुट्टिदै नेकपा (माओवादी केन्द्र)का नेता कृष्णध्वज खड्काले थापालाई ‘जिल्लामा आउनुभयो उम्मेदवारी दिनुभएकोमा’ बधाई भन्दै हुनुहुन्थ्यो । थापाको ध्यान राष्ट्रिय जनमोर्चाका नेता एवं झिमरुक गाउँपालिकाका निवर्तमान अध्यक्ष तिलक बहादुर जिसी तर्फ गयो ।
थापाले जिसीलाई तस्विरका लागि अनुरोध गर्दै भन्नुभयो, ‘तिलकदाई सित खिच्नुपर्यो, हामी त गौडा सौतामारेका हौं…. ।’
सबै उम्मेदवार र पार्टी नेताहरुले सामुहित तस्विर खिच्ने तयार हुन थाल्यो । थापाले राजमो नेता बोमबहादुर खत्रीलाई कटाक्ष हान्दै भन्नुभयो, ‘एक भोट नपुगेर न उम्मेदवार हुनुभएको छैन ।’
रोजसँगको भेट
डिभिजन वन कार्यालय प्यूठान परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गेटबाट एमाले उम्मेदवारहरु बाहिरिँदै गर्दा प्रदेश निर्वाचन क्षेत्र नं. २ का गठबन्धनका उम्मेदवार सरोज थापा (रोज राणा)भेट हुनुभयो । उहाँले सबै उम्मेदवारहरुलाई बधाई भन्नुभयो । सहभागीहरुको आग्रहमा एमाले उम्मेदवारहरुसँग उहाँले फोटो खिचाउनुभयो ।
नेकपा (एमाले)ले प्रदेश निर्वाचन क्षेत्र नं. १ मा तुल्सीराम शर्मा र २ मा हरिप्रसाद रिजाललाई उम्मेदवार बनाएको छ । गठबन्धनका तर्फबाट क्षेत्र नं. १ मा नेकपा माओवादीका नेता कृष्ण अधिकारी प्रकाश र क्षेत्र नं. २ मा नेपाली कांग्रेसका क्षेत्रीय सभापति रोज राणालाई उम्मेदवार बनाएको छ ।