> समाज > के बाध्यता भयो काठमाण्डौं–प्यूठान साईकल यात्रा गर्न ?


के बाध्यता भयो काठमाण्डौं–प्यूठान साईकल यात्रा गर्न ?

प्रज्वल पहाडी
प्यूठान, ३ बैशाख ।
लक डाउनका कारण काठमाण्डौंबाट प्यूठान साईकल यात्रामा चार युवाहरु आईपुगेको समाचार आईरहेको थियो । । सामाजिक सञ्जालहरुमा समेत यसले निक्कै चर्चा पाईरहेको थियो । हामी उनीहरुलाई भेट्न गयौं । मंगलबार बेलुकाको झण्डै ४ बज्दै थियो ।

नौबहिनी गाउँपालिकाले गंगा मा.वि. बाहानेमा बनाएको क्वारेन्टाईनमा बसिरहेका उनीहरु हामी पुग्दा खाजा खादै थिए ।
हामीले सोध्यौं : आरामै आईपुग्नुभयो ?
उनीहरुले भने : हात खुट्टा दुखेको छ, अरु त ठिकै छ ।

हामीले आफ्नो परिचय दियौं अनि उनीहरुको काठमाण्डौं–प्यूठान यात्राका बारेमा कुराकानी शुरु गयौं ।

नौवहिनी गाउँपालिका–२ लिघा कुर्तिवाङ्गका घनबहादुर बुढा, मीन बहादुर वुढामगर, छविलाल घर्तिमगर र जुगमान वुढामगर झण्डै ४२० किलोमिटर साईकल यात्रामा सोमवार राती ९ वजे बाहाने आईपुगेका रहेछन् ।

घन बहादुरले गत श्रावण महिनादेखि ज्याला मजदुरीसँगै विहानको समयमा कोरियन भाषा समेत अध्ययन गर्ने र अरु ३ जनाले विगत केहि वर्षयता कालिमाटी काठमाण्डौंमा ज्यालादारीमा काम गर्दै आएका छन् ।

सबैको स्वास्थ्य अवस्था ठीक छ । घरपरिवारका सदस्य र आफ्नो लागि समेत क्वारेन्टाईनमा बस्नु राम्रो हो भन्ने बुझेका उनीहरुले यहाँ इन्टरनेटको सुविधा भए सहज हुने हामीसँगको कुराकानी बताएका छन् ।

काठमाण्डौं–प्यूठान यात्राका बारे घनबहादुर र छविलालले यसरी सुनाउनुभयो :
लगातारको लक डाउनका कारण साथमा भएको सवै पैसा सकिनै अाँटेको थियो । शुक्रवार र शनिवार काठमाण्डौबाट जिल्ला–जिल्लाको लागि गाडी छुट्ने सूचना सुन्यौ । घर जान पाईने भयो भनेर निकै खुसी लाग्यो । बचेको केहि दाल, चामल डेरा गरेर बस्ने साथिलाई बाँड्यौं ।

केहिवेरमै गाडी नचल्ने सुन्नमा आयो । मनमा छाएको खुसी क्षणभरमै निराशामा बदलियो । उपाय खोज्न थाल्यौं । साईकल ! हामीहरु ४ जना भयौं । साईकल २ वटा मात्रै थियो । नजिकैको ग्यारेजमा फालिएका दुईवटा पुराना साईकललाई २ हजार तिरेर मर्मत गरि साईकलको जोहो ग¥यौं । शनिवार एकाविहानै २ बजे साईकलमा घरको गन्तव्य तँतायौं ।

काठमाण्डौबाट हिँडेको राती झण्डै १२ वजे रुपन्देही सैनामैना नगरपालिकामा आई पुग्यौं । बाटोमा होटल, पसल केहि पनि खुलेका थिएनन् । साईकलको पाईदल हान्दा–हान्दा खुट्टा पनि गलि सकेको थियो । त्यो रात मुर्गीया प्रहरी चौकिको प्रतिक्षालयमा वितायौं ।
बाटोमा प्रहरीले पानी, विस्कुट, चाउचाउ जस्ता खानेकुरा दिँदा यात्रा सजिलो भएको थियो । आईतवार राती झण्डै १ वजे प्यूठानको दरवान आई पुग्यौं । त्यहाँवाट प्रहरीले अगाडी वढ्न दिएन । प्रहरीले यहाँवाट अगाडी जान माथीको आदेश चाहिन्छ भन्नुभयो । सोमवार विहानसम्म त्यहि नै अड्कीनु प¥यो ।

प्रहरीले जिल्ला र गाउँपालिकाको समन्वय गरेपछि त्यहाँबाट छोडियो । वड्डाँडा नजिकै आउँदा साईकल विग्रियो । एउटा साईकलको चेन चुडियो त्यसलाई त्यही फाल्यौं । अर्को साईकलमा दुई जना भएर त्यहाँवाट हिड्यौं । पहाडको वाटो । त्यसमा पनि साईकलको यात्रा, उकालो आउँदा दुई जनालाई अलि दुःख भयो । बाग्दुला आईपुग्दा हामीलाई लिन गाडी आएको रहेछ । साईकल त्यहि गाडीमा हाल्यौं र बाहाने पुग्यौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *