> राष्ट्रिय > विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण


विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण

प्यूठान । मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित खलंगा आधारभुत विद्यालयलाई सहयोग हस्तान्तरण गरिएको छ । प्रतिक्षा श्रेष्ठले थाल्नुभएको सहयोग संकलन अभियानबाट संकलन भएको रकम आज सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलदास नकर्मीलाई संकलन भएको एक लाख ६२ रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो ।आफ्नो जन्मभूमीको विद्यालयको भौतिक अवस्था कमजोर देखेपछि आफूले सहयोग अभियान चलाएको श्रेष्ठले बताउनुभयो । रोजगारीको शिलशिलामा जिल्ला बाहिर बस्ने श्रेष्ठले सामाजिक सञ्जालबाट सहयोगका लागि आह्वान गर्नुभएको थियो ।
“विद्यालयलाई थोरै भएपनि सहयोग गर्न सकियो,” श्रेष्ठले भन्नुभयो, “कतिपय व्यक्तिले यस्तो काम त सरकारी निकायले गर्नुपर्छ भनेर नि भन्नुभयो ।” सामाजिक कार्यका लागि अरुलाई समेत उत्प्रेरणा मिल्ने उहाँको भनाई छ । सरकारी निकायको मात्र आश गर्ने सोंचलाई परिवर्तन गर्न आवश्यक रहेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले विभिन्न सामाजिक अभियानमा सहयोग गर्दै आउनुभएको छ ।
सदरमुकाम खलंगामा अवस्थित विद्यालयमा एक सय ६८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक मन्त्री श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधारमा सुधार हुँदै गएको बताउनुभयो । निर्माणधिन भवन पुरा भएमा विद्यालयको पठन पाठनमा सहज हुने उहाँको भनाई छ । उहाँले अव विद्यालयका बालबालिकाको सिकाई उपलब्धी बढाउन चुनौती थपिएको भन्दै त्यसतर्फ विद्यालयका सवै शिक्षक लाग्ने बताउनुभयो ।
कार्यक्रममा सहयोगदाता श्रेष्ठलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । व्यवस्थापन समितिका अध्यक्ष नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य लक्ष्मी श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पूर्व प्रधानाध्यापक विश्वभक्त श्रेष्ठ, दुर्गाभक्त श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र बहादुर खड्का, भवन निर्माण समितिका अध्यक्ष राजु गुरुङ लगायत शिक्षक अभिभावकको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन शिक्षक राधेश्याम श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *