> राष्ट्रिय > विरामी जाँच्न छुट्टाछुट्टै ‘डेक्स’


विरामी जाँच्न छुट्टाछुट्टै ‘डेक्स’

प्यूठान, २ बैशाख ।
ज्वरो आउने, रुघाखोकी लाग्ने मौषमी ‘फ्लु’का कारण पनि हुन्छ । यस्तै लक्षण देखिना साथ कोरोना भाईरस (कोभिड १९)को संक्रमण भैहाल्यो की भन्ने चिन्ता लाग्छ । यसको उपचारका लागि स्वास्थ्य संस्थाहरुले छुट्टै ‘डेक्स’ स्थापना गरेका छन् ।

जिल्ला अस्पताल विजुवारले कोरोना भाइरस फैलिन नदिन र ज्वरो तथा रुघाखोकीको उपचार गराउन छुटै सहयोगी डेक्स सञ्चालन ल्याएको छ । अस्पतालले ज्वरो तथा खोकी जाँच गर्नका लागि डेक्स संचालनमा ल्याएको हो । मौषम परिवर्तनका समयमा विरामीहरु बढ्ने भएकाले प्राथमिक स्वास्थ्य केन्द्र खलंगाले सम्भावित संक्रमितको जाँचका लागि छुट्टै ‘फिबर क्लिनीक’ स्थापना गरेको छ ।

सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राखि फिबर क्लिनीक स्थापना गरेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.शान्तबहादुर रोकामगरले बताउनुभयो । स्वास्थ्यकर्मीहरुसँग प्रयाप्त सुरक्षा सामाग्री नभएकाले पनि छुट्टै डेक्स स्थापना गर्नुपरेको उहाँले बताउनुभयो ।

रुघाखोकी, ज्वरोका बिरामीलाई उपचार गर्ने र यदि कोरोना भाइरसबाट संक्रमणका बिरामी फेला परेमा उपचारका लागि आइसोलेसनमा राख्न डेस्क स्थापना गरिएको प्यूठान अस्पतालका सूचना अधिकारी राजन घिमिरेले बताउनुभयो । ‘हालसम्म यस्ता बिरामी आएका छैनन्’ ,घिमिरले भन्नुभयो, ‘कोरोनाको लक्षणसंग मिल्ने बिरामी भेटिएमा उनीहरुलाई अस्पताल भित्र नराखी छुट्टै आइसोलेसनमा राखिने छ ।’

अस्पतालमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने र खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिगान निस्कने लगायतका लक्षण भएका बिरामीहरु बढ्न थालेका छन् । गर्मीयामको शुरुसँगै जिल्लाका सरकारी र नीजि स्वास्थ्य संस्थाहरुमा भाईरलका बिरामीको संख्या बढ्न थालेको हो ।

दुषित पानी र खानपिनमा सर्तकता नअपनाउँदा भाइरल ज्वरोको विरामी बढेको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य संस्थाहरुमा दैनिक ६०/६५ जना उपचारका लागि अस्पतालमा आउने गरेको प्यूठान अस्पतालले जनाएको छ । दैनिक ओपिडी वार्डमा ३०/४० जना र ईमजेन्सीमा १५/२० जना आउने गरेका छन् । सामान्य अवस्था भन्दा बिरामीको संख्या केहि बढेको भए पनि भाईरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामी कमै संख्यामा रहेको सूचना अधिकारी घिमिरेले बताउनुभयो ।

अस्पतालले आफ्नै स्रोतमा कोरोना संक्रमणका बिरामी राख्नका लागि ४ बेडको आईसुलेसन तयार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *