प्युठान । प्युठानमा वर्षेनी औलोका विरामी भेटिने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ र चालु आर्थिक वर्ष २०७९/०८० मा ३/३ जना औलोका विरामी भेटिएका छन ।
यसले सङ्ख्या थोरै भएपनि औलोको जोखिम भने उच्च रहेको देखाएको छ । स्वास्थ्य कार्यालय प्युठानका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले स्थानीय व्यक्तिमा भन्दा बाहिरबाट आउने व्यक्तिबाट औलो सर्ने गरेको बताउनुभयो । विशेष गरी भारतबाट आउने व्यक्तिबाट सर्ने गरेको उहाँले बताउनुभयो ।
‘शुन्य औलो अबको थालनी, नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नाराका साथ आज विश्व औलो दिवस मनाइएको छ । नेपालमा ६५ वर्षअघि औलो निवारण गर्ने उदेश्यले कार्यक्रम लागु भएपनि अहिलेसम्म सफलता प्राप्त हुन सकेको छैन ।
“औलोलाई शुन्य बनाउनु छ”, वरिष्ठ जनस्वास्थ्य अधिकृत पाण्डेले भन्नुभयो, “१/२ वटा केशले गाह्रो भएको छ ।” स्वास्थ्य कार्यालयले अहिले औलोको परीक्षणलाई बढाएको जनाएको छ । सवै स्वास्थ्य चौकीमा औलो जाँच गर्ने किट उपलब्ध भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत पाण्डेले बताउनुभयो । अघिल्लो वर्ष एक हजार एक सय ५२ जना र यो आर्थिक वर्ष छ सय ६९ जना शंकास्पद विरामीलाई औलो परीक्षण गरिएको कार्यालयको तथ्याङ्क छ ।
यो आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सवैभन्दा बढी औलोका विरामी भेटिएका छन् । एनोफेलिज जातको पोथी लामखुट्टेले सन्क्रमित व्यक्तिलाइ टाेकेपछि अर्काे व्यक्तिलाइ टाेक्दा सर्ने भएकाले लाखुट्टेको टोकाईबाट बच्नुपर्ने पाण्डेको सुझाव छ । औलो भएमा ज्वरो आउने, पसिना आउने र जाडो हुने हुन्छ । यसले कलेजो र रगतमा असर गर्ने स्वास्थ्यकर्मीको भनाई छ । औलो नियन्त्रणका लागि ज्वरो आएको विरामीलाई औलो परीक्षण गर्न थालिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले स्वास्थ्यसँग सम्वन्धित सरोकारका विषयमा आम नगारिकलाई जानकारी गराउन सञ्चारक्षेत्रको भूमिका महत्वपूणर् हुने बताउनुभयो । अब गर्मी मौषम शुरु हुन थालेकोले लामखुट्टेको टोकाईबाट बच्न जनचेतनामुलक सामाग्री प्रकाशन तथा प्रशारण गर्नुपर्ने बताउनुभयो ।
