प्यूठान । प्यूठान अस्पतालले विरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । अस्पतालले नेपाल रेडक्रस सोसाईटी प्यूठान शाखासँग सम्झौता गरि अस्पतालका विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।
विरामीबाट जाँच शुल्क वापत एक पिन्ट (पोका) रगतको ८५० रुपियाँ लिने गरेको थियो । उक्त रकम अस्पतालले तिर्ने गरि व्यवस्था मिलाइएको निमित्त मेडिकल सुपरिडेन्टेन्ट खिम प्रसाद पार्धेले जानकारी दिनुभयो । प्रदेश सरकारको बजेटबाट उक्त सेवा दिइएको समेत उहाँले बताउनुभयो ।
वार्षिक २ सय पिन्ट रगत अस्पतालमा खपत हुने अनुमान गरिएको छ । ०६८ बैशाख २५ गते आकस्मिक रक्त सञ्चार सेवा केन्द्र स्थापना भएको हो । ०७३ जेठ १५ देखि ब्लड बैंकको रुपमा सेवा थालेको रेडक्रस प्यूठानका गुमानराज पुलामीले जानकारी दिनुभयो । केन्द्रमा बढीमा ३५ दिनसम्म रगत संचय गर्न मिल्छ ।
