> स्थानीय सरकार > पानी परियोजनाको नमुना काम : जलीय जैविक विविधता संरक्षणको जिम्मा समुदायलाई


पानी परियोजनाको नमुना काम : जलीय जैविक विविधता संरक्षणको जिम्मा समुदायलाई

प्यूठान, १३ असोज । ऐरावती गाउँपालिकाले जलीय जैविक विविधता संरक्षणका लागि गाउँपालिकाका दुई वटा समुहलाई जिम्मा दिएको छ । ऐरावती गाउँपालिका वडा नं. १ को बांगे रह सामुदायिक जलिय जैविक विविधता संरक्षण समुह र वडा नं. २ को रकासा रह सामुदायिक जलिय जैविक विविधता संरक्षण समुहलाई नदि खण्ड हस्तान्तरण गर्दै संरक्षणको जिम्मेवारी दिएको हो ।

स्थानीय जलचर संरक्षण ऐन बमोजिम झिमरुक नदी खण्डको दिगो व्यवस्थापन तथा उपयोगका लागि समुहलाई जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । आज मंगलबार नदी खण्ड हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाहले भन्नुभयो,५‘गाउँपालिकाले ऐन बनाएर जिम्मेवारी दिएका छौं ।’

झिमरुक खोला जलाधार व्यवस्थापन परियोजना–दोस्रो अन्र्तगत ऐरावतीका दुई वडामा दुई वर्षदेखि युएसएड पानी परियोजनाको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानले काम गर्दै आएको संस्थाका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । बांगे रहमा ६ दशमलव २६ किलोमिटर नदी खण्ड र रकसा रहमा ३ दशमलव ५७ किलोमिटर नदि खण्डको लम्वाई रहेको जानकारी दिनुभयो । दुवै समुहमा गरि ४३ घरधुरी रहेका छन् ।

कार्यक्रम सञ्चालनका क्रममा स्थानीय समुदायकै माग बमोजिम संरक्षणको जिम्मेवारी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । ‘ऐरावती गाउँपालिकामा जलीय जैविक संरक्षणको क्षेत्रमा नमुना काम भएको छ,’ गाउँपालिका उपाध्यक्ष बुद्ध बस्नेतले भन्नुभयो,‘यसको बुझाइमा फरक पर्दा नदि नै समुहलाई दिएको जस्तो सन्देश पनि गएको छ ।’ पालिकाले गरेको काम नेपालकै नमुना भएकोले यसको दिगो व्यवस्थापनमा जोड दिन आगामी दिनमा पालिकाले समेत योजना अघि बढाउने उहाँले बताउनुभयो ।

ऐरावती गाउँपालिकाले गरेको नमुना कामको सरोकारवालाले समेत खुशी व्यक्त गरेका छन् । जलीय जैविक विविधता संरक्षणको क्षेत्रमा सामुदायिक वनको अवधारणाको रुपमा अघि बढ्नुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानका अध्यक्ष दामोदर शर्मा बताउनुहुन्छ । ‘प्राकृतिक दोह बढ्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसलाई रोक्नका लागि यसप्रकारको अभ्यास फलदायी हुनेछ ।’ सामुदायिक वन हस्तान्तरणपछि देशभर भएको हराभरा वनको उदाहरण दिँदै उहाँले जलिय जलचार लगायत जैविक विविधता संरक्षणमा पनि राम्रो काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

दुई वर्षसम्म गरिएको गतिविधिले सकारात्मक अभ्यास, सिकाई र उपलब्धी भएको जिल्ला स्तरीय मुल समितिका उपाध्यक्ष एवं स्थानीय सिमा घर्तिले बताउनुभयो । ‘राम्रो सिकाई र उपलब्धी भएको छ,’ उहाँले भन्नुभयो, ‘आगामी दश वर्षमा थप दिगो संरक्षणका काम हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *