प्यूठान, २५ चैत्र ।
सवारी चालकहरुले आफूहरुको सुरक्षामा कसैले ध्यान नदिएको गुनासो गरेका छन् । संभावित संक्रमितहरु बोक्ने एम्वुलेन्स तथा अत्यावश्यक सवारी साधनका चालकहरु बढि त्रासमा रहेको गुनासो गरेका हुन् ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न गतिविधिहरु संचालन भए पनि चालकहरुको सुरक्षामा सहयोग नभएको नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी प्यूठानका अध्यक्ष विकास गुरुङ्गले बताउनुभयो । जिल्लामा ३५ जना सरकारी कार्यालयका अस्थायी करार सवारी चालक र १६ जना एम्वुलेन्स चालक छन् ।
अत्यावश्यक काममा चालकहरुलाई परिचालन गरिए पनि कोरोना संक्रमणबाट बच्नका लागि कुनै पनि अत्यावश्यक सामाग्री चालकहरुले नपाएको गुनासो अध्यक्ष गुरुङ्गको छ । दैनिक रुपमा जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी आवातजावतसंगै औषधी, खाद्यान्न, बिरामीहरु बोक्नका लागि सवारी साधन प्रयोग भएका छन् ।
‘सवारी साधन प्रयोग पछि परिवारसंग भेट हुन्छ’ ,अध्यक्ष गुरुङले भन्नुभयो, ‘असुरक्षित भएका हामी चालकले नै घरपरिवारमा डर फैलाएका छौँ ।’ स्थायी सवारी चालकहरुको मनोवल बृद्धिका लागि सरकारले विमा लगायतका योजना ल्याए पनि अस्थायी र करारहरुका लागि सहयोग नभएको उहाँको भनाई छ ।
दैनिक बिरामीहरुलाई आवात जावत गराउने एम्बुलेन्स चालकहरुको पीडा अझै बढि छ । त्रासकै वीचमा भए पनि काममा खटिएको एम्बुलेन्स चालक संघका केन्द्रिय सदस्य सुशील के.सी.ले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानले संचालन गरेको एम्वुलेन्सका चालक दुर्गबहादुर घर्ति भन्नुहुन्छ,
‘विरामी लिएर दौडिई रहेका छौं । कोरोना भाईरस संक्रमितका शंकास्पद विरामी पनि बोक्नु परेको छ । त्यतिवेला डर लाग्छ । हिजो मात्र विदेशबाट आएका व्यक्तिहरुलाई लिएर वेलझुण्डीसम्म पुग्दा माक्स र स्यानीटाईजर दिइएको थियो । त्यस बाहेक कुनै सहयोग छैन । त्यति मात्र होइन लक डाउनका कारण घरबाट खाना खाएर हिँडेपछि घरमै आएर खाने हो । १२ वर्षदेखि खाना खादै आएको होटलमा अहिले चाउचाउ पनि दिँदैनन् । एम्वुलेन्स चालक भनेपछि परैबाट घृणाले हेर्छन् । पानी माग्यो भने उ त्यहाँ छ, लिएर खानुस् भन्छन्, पैसा पछि दिनुहोला भन्छन् । त्यसमाथि प्रहरीले बाटोमा राखेको व्यारिएल आफै हटाएर जानुस् भन्दा कामै नगरु जस्तो भयो । आग्रह गरे पछि प्रहरी आफैले एम्वुलेन्स देखेपछि हटाईदिने गरेका छन् ।’
महामारीको यो अवस्थामा सवारी चालक काममा खटिनु दायित्व भएको प्यूठान नगरपालिकाका सवारी चालक ध्रुव के.सी.ले बताउनुभयो । ‘हामी जतिवेला पनि खटिन तयार छौं ।’ ,उहाँले भन्नुभयो, ‘हामिलाई प्रोत्साहन गर्ने कुनै योजना छैन ।’ महामारीको वेला कोठामा बसेर हिँड्ने आदेश दिने दिन आउन पनि सक्ने तर्फ सचेत गराउँदै उहाँले चालकहरुको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।
एम्बुलेन्स चालकहरुलाई मापदण्ड अनुसार मास्क, ग्लोब्स र सुरक्षित हुनका लागि अन्य सामाग्री दिने तयारी भैरहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो ।






