स्थानीय सरकार

सरुमारानी गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

प्यूठान । सरुमारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सेवा प्रवाह, विकास निर्माण तथा गाउँपालिकाबाट सञ्चालन भइरहेका विभिन्न कार्यक्रमबारे नागरिकका जिज्ञासा, गुनासा र सुझाव संकलन गर्दै सम्बन्धित पदाधिकारीबाट जवाफ दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

सार्वजनिक सुनुवाइमा सहभागी नागरिकले सडक बत्तीको व्यवस्थापन, नदी तटबन्धन, गाउँपालिकाले वितरण गरेका हाते ट्र्याक्टर, समयमै गिट्टी–बालुवाको टेन्डर नहुँदा विकास निर्माणमा परेको प्रभाव, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकास, योजना अनुगमनलाई प्रभावकारी बनाउने विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उठेका सवाल तथा नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमत पत्रमार्फत प्राप्त सुझावमाथि गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्का लगायत सम्बन्धित जवाफदेही वक्ताहरूले जवाफ दिएका थिए ।

नागरिकका प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष विश्वकर्माले गाउँपालिकाले सञ्चालन गर्दै आएको कृषि हाट बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिने तथा योजना अनुगमनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, गाउँपालिकाका विभिन्न क्षेत्रमा सञ्चार सुविधाको समस्या समाधानका लागि मोबाइल नेटवर्क टावर विस्तार गर्न सम्बन्धित निकायसँग पहल गर्ने, गाउँपालिका अन्तर्गतका सेवाप्रदायक निकायहरूको भौतिक पूर्वाधार विकासका लागि योजना सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रशासकीय अधिकृत लक्ष्मण आचार्यले गाउँपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण वि फोर पिसीआई इन्टरप्राइजेज, खलंगा, प्यूठानले गरेको थियो । कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button