> राजनीति > लकडाउनमा राजमोको तीन माग


लकडाउनमा राजमोको तीन माग

प्यूठान, २८ चैत ।
राष्ट्रिय जनमोर्चाले लकडाउनको अवधिमा सरकारसँग तीन वटा माग राखेको छ । सरकारले काठमाण्डौ बाहिर जान चाहने व्यक्तिहरुका लागि दुई दिन यातायात खुल्ला गर्ने र पछि त्यो निर्णय कार्यान्वयन नगर्ने समाचारले पैदा गरेको असहज स्थितिप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै तीन माग अघि सारेको हो ।

जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बक्तव्य प्रकाशित गरि सरकारले दुई दिनका लागि यातायात खुल्ला गर्ने निर्णय सहि भएपनि त्यो एकांकी र अपूर्ण रहेको जनाउनुभएको छ । काठमाण्डोमा रोकिएर जिल्ला जान नपाएका, जिल्लामा रोकिएर काठमाण्डौ आउन नपाएका, भारतको सीमामा रोकिएर नेपा आउन नपाएकाहरुलाई पनि दुई तिन दिनको लागि बाटो खुल्ला गर्नुपर्ने आवश्यकता रहेको जनमोर्चाले जनाएको छ ।

जनमोर्चाको बक्तव्य यसप्रकार छ ः

सरकारले काठमाडौँबाट बाहिर जान चाहने व्यक्तिहरूका लागि दुई दिन यातायात खुला गर्ने समाचार आयो । तर तुरुन्तै त्यो निर्णय कार्यान्वयन नगर्ने भन्ने समाचार पनि आयो । त्यो समाचारले पैदा गरेको असहज स्थितिप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।

सरकारले दुई दिनका लागि यातायात खुला गर्ने जुन निर्णय गरेको थियो, त्यो सही थियो । तर त्यो एकाङ्की र अपूर्ण थियो । लकडाउनका कारणले काठमाडौँमा रोकिएर जिल्लाहरूमा जान नपाएकाहरू मात्र होइन, जिल्लाहरूमा रोकिएर काठमाडौँमा आउन नपाएकाहरू तथा भारतको सीमामा रोकिएर नेपाल आउन नपाएकाहरूलाई पनि दुई–तीन दिनको लागि बाटो खुला गर्नुपर्ने आवश्यकता छ । कम से कम तीन दिन पहिले त्यसप्रकारको सूचना दिएर त्यसरी रोकिएर बसेकाहरूलाई आफ्नो आफ्नो ठाउँमा पुग्न अवसर प्रदान गर्नको लागि हामीले सरकारसित अनुरोध गर्दछौँ ।

जस्तो कि सञ्चार माध्यमहरूबाट समाचारहरू आइरहेका छन्, काठमाडौँमा रोकिएर बसेका कैयौँ मानिसहरू बेखर्ची भएर कैयौँ दिन पैदल हिडेर आफ्नो गाउँमा जाँदैछन् । कतिपय व्यवहारिक कारणले जिल्लाहरूमा गएका मानिसहरू काठमाडोङ्का आफ्ना घर परिवारमा आउन नपाएर ठाउँठाउँमा रोकिएर बस्नुपरेको छ । भारतको सीमामा करिब दुईहजार नेपालीहरू अलपत्र परेर दुःख पाएर बस्नु परेको छ । त्यसप्रकारको स्थितिबाट राष्ट्रिय स्तरमा नै अप्ठ्यारो वा असहज स्थिति उत्पन्न भएको छ र त्यो स्थितिलाई फुकाएर सहज गराउनको लागि हाम्रो पार्टीले सरकारसित माग गर्दछ । त्यसका लागि हामीले निम्नलिखित तीनवटा मागहरू प्रस्तुत गर्दछौँ ।

१. काठमाडौँमा रोकिएर बसेकाहरूलाई आफ्ना गाउँहरूमा जानको लागि अवसर दिने ।
२. विभिन्न व्यवहारिक कारणले जिल्लाहरूमा गएर रोकिएर बसेकाहरूलाई राजधानीमा आउनको लागि अवसर दिने ।
३. भारतमा विभिन्न सीमाहरूमा रोकिएर बसेका नेपालीहरूलाई नेपालमा आफ्नो घरहरूमा आउन अवसर दिने ।

२०७६ चैत्र २८

Leave a Reply

Your email address will not be published. Required fields are marked *