> समाज > योजना छनौटमा लक्षित वर्गको सहभागिता अपरिहार्य : नागरिक समाज


योजना छनौटमा लक्षित वर्गको सहभागिता अपरिहार्य : नागरिक समाज

प्यूठान । आगामी आर्थिक वर्षका लागि बजेट निर्माण चरणमा रहेका बेला योजना छनौटमा लक्षित वर्गको सहभागिताको सवाल उठेको छ । स्थानीय तहले आवश्यकताका आधारमा योजना छनौट गर्नुपर्ने र त्यसमा लक्षित वर्गको सहभागिता गराउनुपर्ने विषयमा सरोकारवालाले ऐक्यवद्धता जनाएका छन् ।

पहिले गाविस हुँदा बस्ती स्तरीय योजना छनौट हुने गरेको भएपनि अहिले स्थानीय तह भएपछि त्यसमा कमी आएको नागरिक सरोकार समाज प्यूठानका संयोजक सुमन सुवेदीको भनाई छ । ‘अहिले जनप्रतिनिधिले आफ्नो खुशी योजना बनाउने गरेका उदाहरण पनि छन, यो बेलामा झन लक्षित वर्गको सहभागितामा बजेट बनाउनु आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

एम्नेष्टी इन्टरनेश्नल नेपाल समुह ३६ प्यूठानका संयोजक एवं प्यूठान क्याम्पसका क्याम्पस प्रमुख कल्पना खड्काले योजना छनौटमा सहभागिता अनिवार्य गराउन आग्रह गर्नुभयो । योजनाको बारेमा लक्षित वर्गलाई बुझाएर, अभिप्रेरित गरेर र सहजीकरण गरेर अर्थपूणर् रुपमा सहभागी बनाउनुपर्ने उहाँको भनाई छ । ‘धेरैलाई पालिकाको वडाको बजेट, योजनाको बारेमा थाहा छैन, उनीहरुलाई थाहा दिन सहजीकरण पनि गर्नुपर्छ ।’ क्याम्पस प्रमुख खड्काको भनाई छ ।

पालिकाको बजेटलाई प्रभावकारी कार्यान्वयनका लािग प्रभावकारी अनुगमन आवश्यक रहेको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ प्यूठानका अध्यक्ष राम पहाडीले उल्लेख गर्नुभयो । आफै बजेट विनियोजन गर्ने र पालिकाका जनप्रतिनि र कर्मचारी आफैले अनुगमन गर्दा अमिल्दो भएको बताउनुभयो । तेस्रो पक्षबाट अनुगमन गर्ने व्यवस्था मिलाउनुपने उहाँको धारणा छ ।

कार्यक्रममा सहभागिले योजना छनौट गर्दा लक्षित वर्गलाई समेट्न आग्रह र सुझाव दिएका छन् । कार्यक्रममा मल्लरानी गाउँपालिका ४ नम्वर वडाका वडा अध्यक्ष कुमार श्रेष्ठले विगतका वर्षमा लक्षित वर्गको बजेट विनियोजन गरेको बताउँदै बजेट अभावले सवै ठाउँमा कार्यक्रम पुग्न नसकेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा बजेटको आकार अनुसार लक्षित वर्गको क्षेत्रमा कार्यक्रम तर्जुृमा गर्ने बताउनुभयो । उहाँले स्थानीय तहले गरेको कार्यक्रम, योजनालाई प्रभावकारी बनाउन स्थानीय स्तरबाट समेत सहयोग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्काले प्राप्त सुझावलाई कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभयो । योजना बनाउने चरण चलिरहेकाले उठेका सवालमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

जिल्ला स्तरीय नागरिक समाज सञ्जालको आयोजनामा आज खलंगामा भएको स्थानीय तहका योजना तर्जुमा प्रक्रियामा लक्षित वर्ग समुदायको अर्थपूणर् सहभागिता विषयक साझा सभामा यी विषयमा चर्चा गरिएको हो । युएसएआइडी र एफएचआई ३६० को साझेदारिमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत कार्यक्रम गरिएको हो ।

सञ्जालका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम अधिकृत पम्फा पन्त र सञ्चालन सञ्जालका सचिव लोकेन्द्र सुनारले गर्नुभएको थियो ।