प्यूठान । शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएपछि सँगै गएका १० जना व्यक्ति पक्राउ परेका छन् । ऐरावती गाउँपालिका वडा नं. १ दाङवाङमा शिकार खेल्ने क्रममा स्थानीय ३४ वर्षीय द्रोण बहादुर आलेमगरको मृत्यु भएपछि सँगै गएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दोबाटो सामुदायिक वनको डाँडाथरीमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञान बहादुर नेपालीले मृगलाई हानेको गोली आलेमगरको टाउकोमा लागेको प्रहरीले जनाएको छ । हिजो दिउँसो घटना भएपनि प्रहरीलाई राती मात्र खवर आएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो ।
प्रहरीले सिकार खेल्ने क्रममा प्रयोग भएको २ नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । त्यसैगरी बन्दुक हान्ने ज्ञान बहादुर नेपाली सहित ओम बहादुर पुन, कृष्ण बहादुर पुन मगर, भुप बहादुर पुन मगर, टिकाराम पुन, ड्याम बहादुर पुन, झविन्द्र थापा, विशाल घर्ति, झिमरुक गाउँपालिका ४ बस्ने गुञ्ज बहादुर पुनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
४ जना व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।
