> आर्थिक/बिकास > स्वर्गद्धारी नगरपालिकामा दुई वटा परियोजनाको प्रारम्भिक गोष्ठी र समीक्षा


स्वर्गद्धारी नगरपालिकामा दुई वटा परियोजनाको प्रारम्भिक गोष्ठी र समीक्षा

प्यूठान । स्वर्गद्धारी नगरपालिकामा सञ्चालित दुई वटा परियोजनाको प्रारम्भिक गोष्ठी तथा समीक्षा गरिएको छ । कोभिड १९ बाट प्रभावित संकटनासन्न व्यक्तिहरुको आर्थिक उत्थानशिलता प्रर्वद्धन परियोजना (पक्याव) र कृषि तथा जीविकोपार्जन प्रर्वद्धन(गोल २) परियोजनाको वार्षिक समीक्षा, नगर स्तरीय प्रारम्भिक गोष्ठी र प्रतिवेदन कार्यक्रम सम्पन्न भएको हो ।

 

 

पालिका स्तरीय परियोजना अनुगमन तथा सल्लाहकार समितिका अध्यक्ष तथा स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गोल परियोजनाका पालिका संयोजक मोहन सुवेदीले आर्थिक वर्ष२०७७/०७८को कार्यक्रमको वार्षिक  प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने परियोजनाका प्यूठान जिल्ला संयोजक मनोज बिक्रम सिंहले उक्त परियोजनाको कार्ययोजना,  लक्ष्य र कार्य प्रक्रिया प्रस्तुत गर्नुभएको थियो ।

 

 

अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्थाको साझेदारीमा सञ्चालन भइरहेका परियोजनाले स्वर्गद्वारी नगरपालिकामा कृषि,  महिला, पशुपालन,  शिक्षा, स्वास्थ्य, बालबालिका लगाएतका क्षेत्रको विकास तथा समृद्धिमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

 

 

पर्क्यावले लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रून्टिगढी गाउँपालिका र सुनिलस्मृति गाउँपालिका, प्यूठान जिल्लाका स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर पालिकाहरूसङ्ग समन्वय गर्दै कार्यक्रमहरू गर्दै  आएको छ । दुई वर्षको कार्य अवधिमा पर्क्यावले प्रत्यक्ष रूपमा ७ सय र अप्रत्यक्ष रूपमा करिब २ हजार ८ सय जना लाभान्वित हुने लक्ष्य राखेको छ ।

 

 

५ लाख अस्ट्रेलियन डलरको बजेटमा कार्यक्रम हुने पर्क्यावको दातृ निकाय भने विदेशी मामिला र व्यापार बिभाग र अस्ट्रेलियन सरकार रहेको आड्रा नेपालका परियोजना संयोजक डा.अनिलचन्द्र न्यौपानेले बताउनुभयो ।

नगरपालिकाभित्र ६० वटा समुह मार्फत कार्यक्रम

सञ्चालित कार्यक्रमहरूले महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सीप तथा क्षमता अभि वृद्धि,  कृषि उद्यमीहरूको पहुँच वृद्धि,  संकटासन्न समुदायको जीविकोपार्जन, उत्थानशील तथा विकासका लागि वातावरण सिर्जना,  कृषि तथा पशुपालन क्षेत्रको विकास,  स्वास्थ्य क्षेत्रको विकासमा सहकार्य,  लैङ्गिक हिंसाको नियन्त्रण आदि क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आएको प्रतिवेदनमा उल्लेख छ ।

 

 

परियोजनाले नगरपालिकाभित्र जम्मा १ हजार २८८ सदस्य संख्या रहेको ६० ओटा कृषि तथा पशुपालन समुहको गठन गरि विकासका कार्यक्रमहरू गर्दै आएको संयोजक सुवेदीले जानकारी दिनुभयो । कोभिड १९ को संक्रमणले परियोजनाको उद्देश्य अनुरुप सम्पूर्ण कार्यक्रम गर्न नसकिएको परियोजनाका संयोजक सुवेदीले जानकारी दिनुभयो ।

 

निरन्तर साझेदारी र सहकार्य गछौं : नगर प्रमुख

कार्यक्रममा बोल्दै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले नगरपालिका र परियोजनाको सहकार्य तथा साझेदारी गर्दै अगाडि बढेको हुनाले महिला,  बालबालिका,  कृषि,  पशुपालन जस्ता क्षेत्रको विकासमा सफल भएको बताउनुभयो । साथै पर्क्यावले सञ्चालन गर्ने कार्यक्रम पनि उपलब्धिमुलक र लाभदायक हुने कुरामा आफू विश्वस्त रहेको नगर प्रमुख रोका क्षेत्रीले बताउनुभयो ।

 

 

कृषि र पशुपालनले नगरबासीको जीवन परिवर्तन हुने बताउँदै यसको लागि बस्ती स्तरमा पकेट क्षेत्र बनाएर निर्वाहमुखीलाई व्यवसायीकरण गरेर नगरपालिका यहि संस्थासङ्गको समन्वयमा अगाडि बढ्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *