प्यूठान, २६ भदौ । नरेन्द्र गुरुङले आफ्नो व्यक्तिगत पहलमा प्यूठानमा ४१ जना नेपाल प्रहरीमा भर्ना भएको भन्दै भदौ २३ गते फेसबुकमा स्टाटेस सेयर गरे ।
नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्री लम्साल लगायत नेताहरुको सिफारिस तथा गृहमन्त्री बालकृष्ण खाडको सहयोगमा प्यूठानमा ४१ जनाले प्रहरीमा नाम निकालेको भन्दै सफल भएका व्यक्तिलाई बधाई र सहयोगको लागि फेसबुकबाटै गृहमन्त्रीलाई धन्यवाद समेत दिए ।
उक्त स्टाटसको विषयमा धेरै टिकाटिप्पणी समेत भइरहेको बेलामा जिल्ला प्रहरी कार्यालय प्यूठानले स्टाटस लेख्ने नरेन्द्र गुरुङलाई आज पक्राउ गरेको छ । प्रहरी प्रमुख सुनिल मल्लले गुरुङ प्रहरीको नियन्त्रणमा रहेको प्यूठान समाचारलाई बताउनुभयो ।
यसैबीच नेपाली कांग्रेस प्यूठानका उपसभापति लम्सालले उक्त घटना आफूलाई आसन्न १४ औं महाधिवेशनमा पराजित गर्ने नियतका साथ गरिएको बताउनुभएको छ । उक्त प्रक्रियामा आफ्नो कुनै संलग्नता रहेको समेत उहाँले विज्ञप्ती मार्फत प्रष्ट पार्नुभएको छ । गुरुङले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कानुनी कारवाही गर्न समेत लम्सालले माग गर्नुभएको छ ।
पक्राउ परेका गुरुङ ऐरावती गाँउपालिका-१ दाङवाङ निवासी नेविसंघका कार्यकर्ता हुन् । हाल गुरुङले उक्त स्टाटस हटाइसकेका छन् ।