> स्थानीय सरकार > प्यूठानका यी स्थानीय सरकारले दिदैछन् विद्युत महशुलमा छुट


प्यूठानका यी स्थानीय सरकारले दिदैछन् विद्युत महशुलमा छुट

प्यूठान, १५ साउन । जिल्लाका तीन वटा स्थानीय सरकारले विद्युत महशुलमा छुट दिने कार्यक्रम अघि बढाएका छन् ।

 

चालु आर्थिक वर्षको कार्यक्रममा प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकाले न्यूनतम २० युनिटसम्मको विद्युत महशुल निःशुल्क गर्ने व्यवस्था मिलाउँदै छन् । त्यसका लागि बजेट तथा कार्यक्रम समेटिएको छ ।

 

‘प्युठान नगरपालिकाले न्यूनतम २० युनिटसम्मको विद्युत महशुल छुट गर्ने निणर्य गरेको छ,’ नगरप्रमुख अर्जुनकुमार कक्षपतिले भन्नुभयो,‘कसरी यसलाई कार्यान्वयन गर्ने भन्ने विषयमा समेत विद्युत प्राधिकरणसँग छलफल अघि बढाएका छौं ।’ उहाँले धेरे सर्वसाधारण न्यूनतम रकम महशुल बुझाउन घण्टौ समय लगाएर पुग्नुपर्ने बाध्यता समेत रहेकाले त्यसको समेत समाधान हुने बताउनुभयो । विद्युत महशुल छुटका लागि नगरपालिकाले अनुमानित ४० लाख रुपियाँ विनियोजन गरेको छ ।

 

साथै नगरपालिकाले उज्यालो नगर घोषणाको तयारी समेत गरेको छ । नगरपालिकाका धेरैजसो बस्ती तथा घरमा विजुली बत्ति पुगिसकेको भन्दै उज्यालो नगर घोषणाको तयारी समेत थालिएको नगरप्रमुख कक्षपतिको भनाई छ ।

 

माण्डवी गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट जनतालाई प्रत्यक्ष राहत हुने कार्यक्रम अन्र्तगत विद्युत महशुल छुटको कार्यक्रम ल्याएको छ । गाउँपालिकाबासी सवैका लागि २० युनिटसम्मको विद्युत महशुल गाउँपालिकाले तिर्ने योजनाका लागि पालिकाले १५ लाख रुपियाँ छुट्टाएको प्रमुश प्रशासकीय अधिकृत शिसिर रिजालले बताउनुभयो । ‘हामीले छुट्टाएको बजेट अपुग हुने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘२५ लाख रुपियाँ लाग्ने भएको छ ।’

 

माण्डवीमा ३ हजार ५५५ घरधुरीले विद्युत जडान गरेका छन् । जसमध्ये २ हजार ८५० घरधुरीको विद्युत महशुल २० युनिटभन्दा कम आउने गरेको बुटवल पावर कम्पनीको तथ्यांक छ । २० युनिटभन्दा मुनिको विद्युत खपत हुने घरधुरीको महशुल विपिसीलाई पालिकाले सिधै तिरिदिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनुभयो ।

 

२० युनिटभन्दा माथी विद्युत खपत गर्ने धरधुरीलाई चौमासिक रुपमा रकम सोधभर्ना गर्ने गरि घरधनीको खातामा रकम उपलब्ध गराउने तयारी पालिकाले गरेको छ । विपिसीले दुई वटा विल काट्न नमिल्दो रहेछ,’ रिजालले भन्नुभयो,‘२० युनिटभन्दा थप विद्युत महशुल उठ्ने सर्वसाधारणले नियमित रुपमा आफैले रकम तिर्नुहुन्छ, हामीले उहाँहरुलाई सोधभर्ना गर्छौं ।’ पालिकाभित्र सञ्चालनमा रहेका उद्योग कलकारखाना, खानेपानी योजना, लिफ्ट सिंचाईको विद्युत महशुलमा भने पालिकाले छुट नदिने रिजालले प्रष्ट पार्नुभयो ।

 

त्यसैगरि स्वर्गद्वारी नगरपालिकाले जनताको उज्यालो कार्यक्रम ल्याएको छ । जसबाट ९० रुपियाँभन्दा कम विद्युत महशुल आउने सर्वसाधारण रकम नगरपालिकाबाट भुक्तानी गरिने स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *