> समाज > विपन्न परिवारका लागि घर निर्माण


विपन्न परिवारका लागि घर निर्माण

प्युठान, २६ फागुन । गौमुखी गाउँपालिका वडा नं ७ नारीकोटका विपन्न ३७ बर्षिय जीतबहादुर वि.क.को लागि घर निर्माण गरिएको छ ।

यस क्षेत्रका स्थानीयको सक्रियतामा आर्थिक संकलन गरी घर निर्माण गरिएको हो । नवनिर्मित घर आज परिवारलाई हस्तान्तरण गरिएको छ । प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जीतबहादुरकी श्रीमती सितादेवी वि.क.लाई ताल्चा दिई घर हस्तान्तरण गर्नुभएको हो ।

जीतबहादुरले एउटा आँखा देख्नुहुन्न । उहाँकी श्रीमतीको एक वटा खुट्टा चल्दैन्। श्रीमान श्रीमतीको यस्तो अवस्था भएपछि परिवार चलाउन समस्या परेको थियो । आर्थिक अवस्था कमजोर भएपछि यो परिवारलाई स्थानीय गाउँपालिकाले जस्तापाता दिएपनि घर निर्माण गर्न सकेका थिएनन् । जीतबहादुरको परिवार जस्तापाताले बारेको बुकुरोमा जीविका चलाउदै आएका थिए । जीतबहादुरको परिवारको यस्तो अवस्था देखेपछि यस क्षेत्रका स्थानीयले अभियाननै चलाएर घर निर्माण अभियान थालेका थिए । गत पुष १४ गतेदेखी घर निर्माणको कार्य थालनी गरिएको अभियान्ता एवं स्थानीय विकास गुरुङ्गले बताउनुभयो ।

 

उनीहरुको धनसम्पती, लत्ताकपडा केही पनि छैन्, गुरुङ्गले भन्नुभयो,–‘ उनीहरु झुपडीमा बस्दै आएका थिए ।’ उनीहरुको यस्तो विचित्र अवस्था देखेपछि घर निर्माण गरिएको हो । देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगका लागि आग्रह गर्दै आर्थिकको जोहो गरिएको हो । जीतबहादुरको घर निर्माणका लागि स्थानीय ९ जना अभियान्ताहरुले विभिन्न क्षेत्रबाट आर्थिक जुटाएका हुन् । यस पूर्व यस क्षेत्रमा ९ वटा सामाजिक अभियान सञ्चालन गरिसकेका थियौ, अभियान्ता गुरुङ्गले भन्नुभयो,–’यसपटक विपन्न परिवारका लागि घर निर्माण गरेका हौँ ।’ आगामी दिनमा समेत यस्ता सामाजिक अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

जीतबहादुरको श्रीमती, एक छोरी र एक छोरा छन् । उनीहरुका लागि २ कोठे घर र शौचालय निर्माण गरिएको हो । विभिन्न व्यक्तिबाट नगद र जिन्सी गरि ५ लाख ४२ हजार ७ सय रुपियाँ लगानीमा घर निर्माण गरिएको हो । वडा नं ७ का वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनीधि, स्थानीय लगाएतको उपस्थितीमा नवनिर्मित घर जीतबहादुरको परिवारलाई हस्तान्तरण गरिएको हो । घर हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले विपन्न परिवारका लागि अभियान्ता मार्फत रकम जुटाएर घर निर्माण गरिनु सामाजिक कार्य भएको बताउनुभयो ।

 

यस्ता सामाजिक कार्यले राष्ट्र निर्माणमा सहयोग पुग्ने उहाँले बताउनुभयो । समाजमा हुने नकारात्मक गतिविधि रोक्नका लागि पनि यस्ता अभियानले सहयोग गर्ने उहाँको भनाई थियो । जीतबहादुर छोराछोरी पढाउनका लागि व्यवस्था मिलाउन पहल समेत गर्ने प्रजिअ भुसालले बताउनुभयो । अभियान्ता मार्फत आर्थिक संकलन गरी निर्माण गरिएको नयाँ घर पाएपछि सीतादेवीले खुसी व्यक्त गर्नुभयो । पहिले झुपुडोमा बस्दै आएका थियौ, सितादेवीले भन्नुभयो,–’पानी पर्दा घर भित्रै पानी समेत खस्थ्यो ।’ सबैको सहयोगमा नयाँ घर निर्माण भयो अब छोराछोरी थोपेर बस्ने ठाउँ बन्यो उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *