> समाज > नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन फागुन पहिलो साता


नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन फागुन पहिलो साता

प्यूठान, ५ माघ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन फागुन पहिलो साता काठमाण्डौमा हुने भएको छ । महासंघको माघ ३ र ४ गते सिन्धुपाल्चोकको हेलम्बुमा सम्पन्न १२ औं पूर्ण बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो ।

बैठकले महासंघको विधानको व्यवस्था र प्रक्रियालाई ध्यान दिँदै आगामी फागुन ४ र ५ गते काठमाडौंमा महासंघको २६ औ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारीसम्बन्धी कार्यका लागि केन्द्रीय कार्यालयलाई जिम्मा दिने निर्णय गरिएको महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

केन्द्रीय महाधिवेशन अघि नै प्रदेश र शाखाहरूको अधिवेशन (साधारणसभा) सम्पन्न गरिसक्नुपर्ने विधानको व्यवस्था एवम् यसअघिको बैठकबाट भएको निर्णय बमोजिम माघ २० गतेसम्म शाखाको साधारणसभा र माघ ३० सम्म प्रदेशको साधारण सभा सम्पन्न गरिसक्ने निर्णय गरिएको छ । समयमै प्रदेश र जिल्लाको साधारणसभा सम्पन्न गर्न गराउन निर्देशन गरिएको छ ।

यसअघिको बैठकले नयाँ सदस्यता आवेदन प्रक्रिया बन्द गरिसकेकाले शाखाहरूले सदस्यता स्वीकृत गरी अनुमोदनका लागि प्रदेशमा पठाएका सदस्यताबारे आवश्यक निर्णय गरी अनुमोदन भएका नयाँ सदस्यहरूको विवरण माघ १५ गतेसम्म केन्द्रीय कार्यालयमा सबै प्रदेश समितिले पठाइसक्नु पर्ने निर्णय गरिएको छ ।

केन्द्रीय महाधिवेशन सम्पन्न भएको कम्तिमा ३० दिनभित्र महासंघका केन्द्र, प्रदेश र शाखा गरी तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बैधानिक व्यवस्था बमोजिम निर्वाचन प्रक्रिया सम्पन्न गर्न १ जना वरिष्ठ पत्रकारको संयोजकत्वमा ४ जना अधिवक्ता र समावेशी क्षेत्रका पत्रकारको समेत प्रतिनिधित्व हुने गरी ७ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिने निर्णय गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले केन्द्रसँगको परामर्शमा विधान बमोजिम समयभित्र निर्वाचन मिति तोक्ने, निर्वाचन सञ्चालन कार्यविधि बनाउने र प्रदेश तथा शाखामा गठित निर्वाचन समितिलाई अनुगमनसमेत गर्ने अधिकार प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रतिनिधिसभा विघटन र त्यसपछिका राजनीतिक घटनाक्रमवाट संघीय लोकतान्त्रिक गणतन्त्र, मुलुकको संविधान, नागरिक अधिकार एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिनेतर्फ महासंघ सजग र थप क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दै संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको पक्षमा महासंघ दृढतापूर्वक उभिने निर्णय गरिएको विष्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *