> खेलकुद > प्रधानमन्त्री राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता : एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा


प्रधानमन्त्री राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता : एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा

दाङ, १२ पुस । शनिबारदेखि शुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा समूह ए बाट एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार लमहीको देउखुरी मैदानमा भएको खेलमा एपिएफले प्रदेश २ लाई ८ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ ।

जितको लागि ७३ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले १३ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै पूरा गरे । एपिएफकी ओपनर ज्योती पान्डे ४० बलमा ४ चौका सहित सर्वाधिक ३० रनको योगदान दिइन् । सरिता मगर ६ र इन्दु बर्मा १ रनमा अविजित रहिन् । कप्तान सीता राना मगर ३० बल खेल्दै १ चौका सहित १८ रनमा आउट भइन् । कविता गौतम र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ७२ रन बनायो । प्रदेश २ की ओपनर अनुराधा चौधरीले सर्वाधिक १८ रनको योगदान दिइन् ।

ओपनर सोभा आले र अनुराधा चौधरीले ७ ओभरमा २७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिइन् । तीव्र गतिकी बलर इश्वरी विष्टले सातौं ओभरको अन्तिम बलमा आलेलाई सोनु खड्काबाट १३ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाइन् । एक ओभरपछि मेलिना रायमाझीलाई स्पिनर करुणा भण्डारीले शून्यमा बोल्ड आउट गरिन् ।

१२ औं ओभरको अन्तिम बलमा कविता गौतमसँग तालमेल नमिल्दा अनुराधा चौधरी रन आउट भएसँगै प्रदेश २ को ठूलो योगफलको सम्भावना सकिएको थियो । १३ औं ओभरको तेस्रो बलमा कप्तान सरस्वती कुमारी चौधरीलाई सीता राना मगरले शून्यमा बोल्ड आउट गरिन् ।

तल्लोक्रमका खेलाडीले पनि राम्रो प्रर्दशन गर्न सकेनन् । बिमला मगर ६, गोमा आले ३ र सरा प्रविन २ रनमा आउट भइन् । एपीएफकी सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । रेखा रावल, करुण भण्डारी, इश्वरी बिष्ट र राजमती ऐरीले १–१ विकेट लिए ।
सुरुवाती दुवै खेल हारेका समूह ए का कर्णाली र प्रदेश २ भने बाहिरिएका हुन् ।
एपिएफको जितसँगै लुम्बिनी प्रदेश पनि एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ ।

समूह ए को अन्तिम खेलमा सोमबार हुने पहिलो खेलमा प्रदेश २ र कर्णाली खेल्ने छन् । जुन प्रतिष्ठाको लडाई हुने छ । दोस्रो खेलमा लुम्बिनी र एपिएफ भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *