समाजराष्ट्रिय

सरकारी निर्देशिका विपरित प्यूठानमा कोरोना संक्रमितको दाहसंस्कार

प्यार अलि खाँन
प्यूठान, १७ मंसिर । स्थानीय सरकार प्रमुखले नै कोरोना संक्रमितको दाहसंस्कार गराएको रहस्य खुलेको छ। नौबहिनि गाउँपालिकाका अध्यक्ष शिवप्रसाद रिजालले कोरोना संक्रमणबाट मृत्यु भएका आफ्ना बुवाको दाहसंस्कार सरकारले जारी गरेको निर्देशिका विपरित गरेको पाइएको हो । ७८ वर्षीय डिल्लीराज रिजालको मंसिर ९ गते बहानेमा अन्त्यष्टि गरिएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र तथा स्थानीयहरुलाई समेत मृत्युको कारण कोभिडबारे जानकारी नै नगराई दाहसंस्कार गराएकोप्रति नागरिक सरोकार समाज प्यूठानले कडा आपत्ति जनाएको छ।

 

‘निति निर्माण तहमा बस्ने स्थानीय सरकार प्रमुखले नै यस्तो गम्भिर लापर्वाही गर्ने ?’ नागरिक सरोकार समाज प्यूठानका संयोजक सुमन सुवेदीले भन्नुभयाे, ‘पहुँच हुनेले जे पनि गर्न पाउने छुट छ ? नागरिकको स्वास्थ्यमा गंम्भिर खेलवाड गर्ने स्थानीय सरकार प्रमुखलाई कस्तो कार्वाही होला त ?’

 

जिल्लाका सरोकारवाला निकाय यस खबरप्रति बेखबर भएकोमा सुवेदीले चिन्ता प्रकट गर्नुभएको छ । ‘अहिलेको अवस्थामा यो जघन्य अपराध नै हो।’ सुवेदीले भन्नुभयाे, ‘दाहसंस्कारमा सहभागी यतिबेला आक्रान्त बनेका छन्।’

कोभिडका कारण मृत्यु एवं दाहसंस्कारबारे गाउँपालिका प्रमुखले जानकारी नगराएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खिमप्रसाद भुसाललले बताउनुभयो। ‘हामीलाई थाहा नै दिईएन।’ प्रमुख जिल्ला अधिकारी भुसालले भन्नुभयो, ‘यसबारे छिट्टै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा छलफल हुँदैछ।’

 

भेरी अस्पतालमा मंसिर २ गते भर्ना भएका रिजाल उपचारकै क्रममा ९ गते विहान निधन भएको भेरी अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएका रिजालको कार्तिक ३० गते शिक्षण अस्पताल नेपालगंजमा स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
रिजालको दाहसंस्कारका स्थानीयहरु, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यसैबीच, नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले पालिकाभित्र कोभिडका कारण कुनै व्यक्तिको मृत्यु भएको जानकारी आफूलाई नआएको प्यूठान समाचारसँग बताउनुभएको छ । आधिकारीक रुपमा जानकारी नआएको उहाँको भनाई छ ।

 

Related Articles

Back to top button