> समाज > स्वर्गद्वारी र ऐरावतीका विद्यालय संचालनमा आउने


स्वर्गद्वारी र ऐरावतीका विद्यालय संचालनमा आउने

प्यूठान, ५ मंसिर । कोभिड १९ को संक्रमणका कारण बन्द रहेका प्यूठानको स्वर्गद्वारी नगरपालिका र ऐरावति गाउँपालिका भित्रका विद्यालय संचालन हुने भएका छन् । नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ अनुसार स्वास्थ्य मापदण्ड पुरा गर्दै  विद्यालय सञ्चालन गर्ने आज शनिवार निर्णय गरेका हुन् ।

शनिवार बसेको ऐरावति गाउँपालिका स्तरीय सर्वपक्षिय सर्वदलिय बैठकले मंसिर ७ गते भोलि आईबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले प्यूठान समाचारलाई जानकारी दिनुभयो । विद्यालयलाई स्वास्थ्य मापदण्डहरु पालना गरी उच्च सतर्कताका साथ सजकता अपनाई विद्यालय सञ्चालन गर्न आग्रह गरिएको शाहले बताउनुभयो ।

 

यस्तै आज नै बसेको स्वर्गद्वारी नगर शिक्षा समिति र कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको संयुक्त बैठकले नगरपालिका भित्रका विद्यालय मंसिर ८ गते पर्सि सोमवारदेखि सञ्चालन गर्ने गरिएको नगरपालिकाका मेयर नेत्रबहादुर रोकायले प्यूठान समाचारलाई जानकारी दिनुभयो । स्वास्थ्य मापदण्ड पुरा गर्दै प्राथमिक विद्यालयका सबै कक्षाहरु सञ्चालन हुनेछन् भने आधारभुत र माध्यमिक तहका विद्यालयको हकमा मंसिर १९ गतेसम्म जोर विजोड प्रणालीमा कक्षा सञ्चालन गरिने भएको हो । साथै कोभिड–१९ संक्रमण रोकथामको लागि नगरपालिका अन्तर्गत हुने कूल पूजा (देवाली) स्वास्थ्यको मापदण्ड अपनाइ प्रतिनिधि मूलक तवरले भिड्भाड नहुने गरी गर्न अनुरोध समेत गरेको छ ।

 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को गत बिहिवार बसेको बैठकले बिद्यालय पठनपाठन स्थानीय तहले कोभिडको अवस्था, सहजता हेरेर आवश्यक निर्णय लिन सक्ने निर्णय गरेको थियो ।

 

सोही अनुसार पालिकाहरुले बिद्यालय खोल्ने निर्णय गरेको हो । ऐेरावति गाउँपालिका भित्र ४१ वटा विद्यालय र स्वर्गद्वारी नगरपालिका भित्र ५३ वटा विद्यालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *