प्यूठान, २२ कात्तिक । फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिवार संस्थाको केन्द्रिय कार्यालय प्यूठान नगरपालिका १ खैरामा औपचारिक कार्यक्रमका विच सम्पन्न भएको हो । संस्थाका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षता सञ्चालन भएको कार्यक्रममा संस्थाका सचिव निर्मला पोख्रेल र कोषाध्यक्ष किरण के.सी.ले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको हो । प्रस्तुत प्रतिवेदन अनुसार आ.व २०७६/७७ सम्ममा संस्थाको कुल सम्पत्ति तथा दायित्व १३ करोड ६५ लाख ३७ हजार ३ सय १९ रुपैँया ५९ पैसा रहेको छ ।
कोषाध्यक्ष किरण के.सी.द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार आ.व २०७६/७७ मा संस्थाको कुल आम्दानी १ करोड ४५ लाख २८ हजार ६ सय १ रुपैँया रहेको छ भने खर्च १ करोड २८ लाख ७९ हजार ४ सय रुपैँया रहेको छ । संस्थाको खुद बचत २१ लाख ४६ हजार ६ सय ८५ रहेको छ भने खुद नाफा १५ लाख ५० हजार ६ सय ६ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै आ.व ०७७/७८ को अनुमानित आम्दानी २ करोड २१ हजार, खर्च १ करोड ६३ लाख ६२ हजार ८ सय र खुद बचत ३६ लाख अन्ठाउन्न हजार २ सय रहेको छ भने कुल सम्पत्ति १५ करोड ७९ लाख रहेको छ ।
लेखा परिक्षण समितिको प्रतिवेदन संयोजक नेत्रमणी आचार्य र ऋण उपसमितिको प्रतिवेदन संयोजक मोहन सुवेदीले प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रमको सम्वोधन गर्दै संस्थाका अध्यक्ष भोज बहादुर वस्नेतले संस्थाले दिनप्रति दिन आफ्नो गुणस्तर तथा सेवामा विस्तार गर्दै गई रहेको परिपेक्षमा सम्पुर्ण शेयर सदस्यहरुले संस्थाले सञ्चालन गरेका सबै प्रकारका वचत तथा ऋणको कारोवार ढुक्कसँग गर्न आह्वान गर्नुभयो ।
प्रतिवेदन प्रस्तुत गर्दै सचिव निर्मला पोख्रेलले कोरोना महामारीको विषम परिस्थितिमा पनि संस्थाले सदस्यहरुलाई सेवा दिनबाट पछि नपरेको बताउनुभयो । यस्तै कोषाध्यक्ष किरण के.सीले जस्तोसुकै जटिल परिस्थितिका बावजुद पनि सदस्यहरुको सेवा र हितका लागि तल्लिन रहने बताउनुभयो ।
सदस्यबाट आएका सुझावको विषयमा समेत छलफल गरिएको छ भने विभिन्न नीति तथा विनियम समेत संशोधनमा समेत निर्णय गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा राष्ट्रिय स्तरको प्रोवेशन व्राण्ड समेत प्राप्त गरेको संस्थाले विप्रेषण रेमिटान्स सेवा साथै सदस्यलाई सुत्केरी खर्च, घाट खर्च तथा सदस्य राहतकोष, संरक्षित पुँजीकोष रकम वितरणको सुविधा तथा व्यवस्था समेत गर्दै आएको छ ।
संस्थाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्तिक १९ गते सामुदायिक रेडियो कृपालु ९९ मेगाहर्जबाट साधारण सभाको प्रतिवेदन प्रत्यक्ष प्रशारण गरेको थियो भने कार्तिक २० गते जिल्लाको सेवा क्षेत्र अन्तर्गत ९ वटा इलाकाबाट अनौपचारिक कार्यक्रमको आयोजना गरी भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाएर सदस्यहरुले सहभागीता जनाई आफ्नो सुझाव दिने व्यवस्था सहित इलाका स्तरको साधारण सभा सम्पन्न गरेको थियो ।
कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरु, संस्थापक, पुर्व तथा निवर्तमान अध्यक्ष एवम् विभिन्न उपसमितीका संयोजक तथा पदाधिकारीहरु र नौवटा इलाकाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण व्यवस्थापक प्रकास वैद्यले गर्नुभएको थियो ।
संस्थाको वेवसाइट सञ्चालनमा
संस्थाको २२ औं साधारण सभाको अवसरमा संस्थाले वेवसाइट fulvarisaccos.com सञ्चालनमा ल्याएको छ । संस्थापक अध्यक्ष लोक बहादुर बस्नेतले वेवसाइटको औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । सदस्यहरुले संस्थाको वेवसाइटमा संस्थाको वारेमा नियमित जानकारी, गतिविधि र सूचनाहरु प्राप्त गर्न सक्नेछन् ।