बासुदेब गिरी
प्यूठान, ३ कार्तिक । झिमरुक गाउँपालिका वडा नं ६ को नवनिर्मित वडा कार्यालयको उद्घाटन गरिएको छ ।
तोरवाङ्ग नेटामा निर्माण गरिएको भवनको गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जिसीले आफु निर्वाचित भएको तीन वर्षमा पालिका क्षेत्रमा विभिन्न विकास निर्माणका कामहरु गरेको बताउनुभयो । मानव समाजको चेतनाको आधारमा विकासका कामहरु गर्न सकिने उहाँले बताउनुभयो बताउनुभयो ।
पालिकाले बितेको तीन वर्षको अवधिमा सड्क, बिजुली, ससाना खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रलाई प्राथमिकता दिई काम गरेको बताउनुभयो । कार्यकालमा पालिका भित्रका ८ वटै वडालाई सुविधा सम्पन्न र सबैको आफ्नो भवन निर्माण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । वडा तथा गाउँपालिका भवन निर्माणका लागि स्थानीयले पनि निशुल्क जग्गा दिएर सहयोग गर्नुभएको छ, अध्यक्ष जिसीले भन्नुभयो,–‘सबैको साथमा हामीहरुले काम गरेका छौँ ।’ पालिका भित्र खरका छाना भएका नगरिकको घरमा जस्तापाता लगाउनका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपियाँ बजेट विनियोजन समेत गरेको उहाँले बताउनुभयो ।
बिगत तीन वर्षदेखी मासिक ६ हजार रुपियाँ तिरी भाडाको भवनबाट काम गर्दै आएको वडा कार्यालयले आफ्नो भवन निर्माण गरेपछि काममा सहज हुने विश्वास लिएको वडाअध्यक्ष निमानसिंह जिसीले बताउनुभयो । करिब ३ रोपनी जग्गामा उपभोक्ता समिति मार्फत हल सहित ४ कोठे भवन निर्माण गरिएको अध्यक्ष जिसीले बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजित ६० लाख र स्थानीय जनश्रमदान ६ लाख ६३७ रुपियाँ गरी ६६ लाख ६३७ रुपियाँ लागतमा भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै झिमरुक गाउँपालिका वडा नं ४ मा पनि वडा कार्यालय भवन निर्माण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजित ६० लाख र स्थानीय जनश्रमदान ६ लाख ६३७ रुपियाँ गरी ६६ लाख ६३७ रुपियाँ लागतमा कोछेटारीमा भवन निर्माण गरिएको वडाअध्यक्ष सिताराम पोख्रेलले बताउनुभयो । ३ रोपनी जग्गा स्थानीय बेलकुमारी जिसी, कृष्णबहादुर केसी र ललित थापाबाट निशुल्क प्राप्त भएसंगै उक्त जग्गामा भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।
जीर्ण र पुरानो साविक गाविसको भवनबाट चल्दै आएको वडा कार्यालय नयाँ भवन निर्माण पुरा भएपछि गत कार्तिक १ गते उद्घाटन गरिएको हो । उद्घाटन गरिएको भवनमा सोमबारदेखि कार्यालयका नियमित काम सुचारु गरिएको उहाँको भनाई छ । प्रायः गरेर वडा कार्यालयको स्थानहरु छनोट गर्दा यातायात, बिजुली, सञ्चार, खानेपानी लाई उच्च प्राथमिकतामा राखेर जनताको पायक पर्ने ठाउँमा वडा कार्यालय निर्माण गरेको वडाअध्यक्ष पोख्रेलले बताउनुभयो ।
पालिका भरका ८ वडा मध्ये पहिलो वर्ष वडा नं ५ मच्छीमा कार्यालय निर्माण गरिएको थियो । हालसम्म वडा नं १, वडा नं ३ र वडा नं ८ कार्यालय भाडाको भवनबाट सञ्चालन भईरहेका छन् भने वडा नं २, वडा नं ७ वडा कार्यालय साकिककै गाविस भवनबाट कार्यालयका नियमित कामकाज सञ्चालन भएका छन् ।
गाउँपालिका भवन पनि बन्दै
झिमरुक गाउँपालिकाको प्रशासनीक भवन पनि निर्माण हुदैँ छ । गत चैतदेखि निर्माण सुरु गरिएको भवनको हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष जिसीले बताउनुभयो । रविना–आँशु–मल्लरानी जेभीले निर्माणको जिम्मा पाएको छ । ०७८ जेठ मसान्तभित्र भवनको निर्माण पूरा गर्ने सम्झौता भएको छ । भवनको लागत अनुमान ६ करोड ५७ लाख ३५ हजार ७ सय २४ रुपियाँ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनुभयो । कोरोना संक्रमणका कारण सुरुसुरुमा बन्दाबन्दीको कारण निर्माण सामाग्री अभावले समस्या भएपनि हाल नियमित रुपमा निर्माण सामाग्री आउन थालेपछि निर्माण काम भएको हो । चार तलाको भवन निर्माण गर्ने डिपिआर तयार भए पनि यस वर्ष २२ कोठाको २ तले भवन निर्माण पूरा हुने गाउँपालिका इञ्जिनियर निरज शाहले बताउनुभयो । प्रशासनिक भवनमा आपतकालिन भर्याङ र अपांगमैत्री शौचालय समेत निर्माण हुने साइट इन्चार्ज नगेन्द्र आचार्यले बताउनुभयो । गाउँपालिकाको कार्यालय केही वर्ष भाडाको भवनमा संचालन भएको र हाल सभाहललाई विभाजन गरी चलाइएको उहाँले बताउनुभयो ।
