सरद बिष्ट
स्वर्गद्वारी नगरपालिका–३, प्यूठान
हिन्दु नेपालीहरुको महान चाडपर्वहरु मध्य बिजया दशमी एउटा महान एवम् महत्वपुर्ण पर्व हो । यो महान चाड दशैका विभिन्न नामहरु छन् । कसैले दशहरा, कसैले बिजया दशमी र कसैले बडा दशै भनेर नामाकरण गरेको पाईन्छ । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन भयता पनि यसपाली २०७७ सालको दशैं भने कार्तिक १० गत सोमवारका दिन परेको छ । जेहोस दशैं नेपालीहरुको सबैभन्दा ठूलो राष्ट्रिय चाड तथा महान उत्सव पनि हो ।
हिन्दु धर्म शास्त्र अनुसार त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । भगवान श्री रामले दशै दिनमा रावणमाथि विजयी हाँसिल गरेको भएर दशैलाई वडादशैं एवम् विजया दशमीको नामले पनि चिनिन्छ । विशेषत दशैलाई असत्य माथि सत्यको जीत भएको दिनको रुपमा पनि सम्झना गर्ने गरिन्छ ।
सामान्यता विजया दशमी भगवान श्रीरामको विजयको रुपमा मनाइयोस् वा दुर्गा पूजाको रुपमा, दुबैको रुपमा मनाउदा यो शक्ति–पूजाको पर्व हो । हर्ष, खुशी र उमङ्ग तथा विजयको पर्व हो । त्यसैले दशैले आफ्नो छुटै गरिमा र पहिचान बनाएको छ । प्राचिन कालमा राजाहरुले यो दिन विजयको प्राथना गरेर रण–यात्राको लागि प्रार्थना गर्दथे । उक्त दिनमा ठाउँ–ठाउँमा मेलाहरु लाग्थ्यो । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ र रावणको विशाल पुतला बनाएर जलाइन्छ ।
हिन्दु नेपालीहरुको सबैभन्दा ठुलो चाड भनेको नै दशै हो । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापनादेखि पुर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएतापनि पहिलो ९ दिललाई नवरात्री र दशौं दिनलाई दशमी वा दशंै भनिन्छ । यो तिथीमा माता दुर्गाले महिषसुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानबजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैका प्रमुख तिथिहरु हुन् ।
बडादशैंको पर्वमा शहर वजारमा मालश्री धुन बजाएर र गीत गाएर पनि रमाईलो गर्ने गरिन्छ । देश बिदेश तथा टाढा–टाढा भएका आफन्त र साथीभाईसँग घेटभाट हुने वातावरण यसै समयमा सुरु हुन्छ । दशैमा दक्षिणा, टिका, जमरा,नयाँ कपडा, पिङ्ग, मिठा–मिठा खानाका परिकार र मान्यजनको आर्शिवादले भरिपुर्ण हुन्छ । त्यसैले अरु चाड भन्दा दशैंलाई विशेष महत्वका साथ हेर्ने र मनाउने गरिन्छ ।
वास्तवमा, दशैं दश दिन मनाउने भएकोले पनि यो हिन्दुहरुको महान पर्वलाई दशैं भनेको हुनुपर्छ । दशेंमा नवदुर्गाको नौ वटा रुप शैलीपुत्री, व्रहृ्माचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्रीको विशेष पुजा तथा आरधना गरिन्छ । नवदुर्गा भवानीका यी नव रुपको आश्विन शुक्लपक्ष प्रतिपदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक–एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ । दशौं दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथी र श्रीरामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनवाट रातो टिका र पहेलो जमरा लगाउने गरिन्छ ।
दशैंका महत्वपुर्ण दिनहरुः
घटस्थापना
प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि दशैंको नवरात्र आरम्भ हुन्छ ।क्रमशः दशमीका दिन प्रातः कालमा मात्र यो व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ । उक्त दिन घट अर्थात कलशको स्थापना गरी देवीदेवतालाई घर–घरमा निमन्त्रणा गरिन्छ । घटस्थापनाको दिन बिहानै नदी, खोला वा तलाउमा गएर चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशै घर र सबैको आ–आफ्ना घरको पुजा कोठामा सुर्यको प्रकाश नपर्ने गरि अध्यारो कोठामा जौ र मकैका गेडा पनि उमार्ने चलन छ । जसलाई हामी जमरा भन्छौ । माता भगवतीलाई मन पर्ने वनस्पति पनि जमरा नै हो । जमरा औषधीमय जडीबुटकिो लागि प्रयोग गरिन्छ ।
महासप्तमी (फूलपाती)
नवरात्रीको सातौं दिनलाई फूलपाती भनिन्छ । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको बाला, अनार अदुवाको बोट, कचु, उखु, केरा आदि नौ प्रकारका पालुवाहरु दशैं घरमा भित्राउने कार्यलाई फूलपाती भित्राउने भनिन्छ । वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरु घरमा भित्राउदा औषधीको काम गर्ने र विभिन्न रोगका किटाणु तथा जिवाणुहरु नास भएर जान्छन भन्ने शास्त्रीय मान्यता छ । फूलपातीका दिन काठमाण्डौंको टुँडिखेलमा सेनाको बढाई भएपछि फूलपाति स्वरुप दारिम, केरा, धान, हलेदो,कचु, बेल,अशोक र जयन्ती गरी नौ प्रकारका पातहरुलाई पूजा गरि दुर्गापूजा गरेको स्थानमा राखिन्छ । यसै दिन गोरखा दरबारको दशैं घरवाट ल्याइएको फूलपाती काठमाण्डौंको जमलमा ल्याई नेपाली सेनाले परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्राउछन् ।
महाष्टमी
नबरात्रकिो आठौ दिनलाई महाष्टमी भनिन्छ । महाष्टमीमा महाकाली भद्रकालीको विशेष पुजा–आजा गरिन्छ । देबी भागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएकोले पूजा गर्ने चलन रहिआएको छ । पुजापश्यात मानिसहरु नवदुर्गा र आ–आपना कुलदेवताहरुलाई पूजी बोका,कुखुरा, हाँस, पाडाको बलि दिन्छन् । शाकाहारीले भने नरिवल, कुभिण्डो, केरा आदि फल अर्पण गर्छन् ।
महानवमी
नवरात्रीको नवौं दिन महानवमीमा बिशेष गरी महालक्ष्मी देबीको पूजा–आजा गरिन्छ । यसै दिन हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई बलि दिई बिश्वकर्माको पूजा गर्ने प्रचलन छ । यस दिन अरु पूजाको साथै दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गर्ने गरिन्छ ।
विजया दशमी
नबरात्रीको दशौ दिनलाई विजयादशमी भनिन्छ । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजयी प्राप्त गरेकोले यस दिनलाई विजया दशमी भनिएको हो भन्ने भनाई छ । यस दिन आफूभन्दा ठूला र मान्यजनका हातवाट टिका, जमरा र दक्षिणा ग्रहण गरिन्छ । धर्मशास्त्र अनुसार जौलाई समृद्धिको प्रतिक मानिन्छ । दशैको वेला हामीहरु सु–ख, शान्ति, शक्ति र समृद्धिको कामना गर्दै टिका लगाउनको लागि आफन्त छिमेक हुँदै मामाघर र ससुरालीसम्म पुग्ने गर्दछौं । सामान्यताः दशैंको टिका लगाउने चलन एक दिन रहेतापनि कतैकतै कोजाग्रत पुर्णिमासम्म टिका लगाउने प्रचलन छ ।
टिका लगाउदा पुरुषहरुलाई दिइने आर्शिवाद यस्तो छ–
“आयू द्रोणसुते श्रीयो खशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्व पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्व नारायणे ।।”
टिका लगाउदा महिलाहरुलाई दिइने आर्शिवाद यस्तो छ–
“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।”
वास्तवमा वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगमको काल थियो । त्यहिबाट दशैको सुरुवात भो । बडादशै सनातन परम्परा, संस्कार–संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको बिषयमात्र नभएर अव यसको बैज्ञानिक महत्वको बिषय पनि रहेको पुष्टि भएको छ । यो सामाजिक, साँस्कृतिक, मनोबैज्ञानिक र व्यवहार बिज्ञानसँग पनि निकट रहेको छ ।
दशै पुर्खाको धरोहर हो । यो चाड पुर्खौदेखि चल्दै आएको छ । हामीलाई एक अर्कामा अनुशासित राख्न, सामाजिक मर्यादा सिकाउन, सामाजिक सदाचारको जिवन यापन गर्नको लागि चाडपर्वको उल्लेखनिय भूमिका हुन्छ । दशै जस्तो महान चाडको पनि केहि कमजोरीहरु नभएका होइनन् । सबैको क्षमता र हैसियत समान नभएकोले पनि सबैको घरमा दशैं सोचे जस्तो हुदैन् । गरिवहरुको घरमा चाडवाडहरु पिडा बनेर आउछन् । एक जोर नयाँ कपडा र मिठो गुलियो खान नपाउदा गरिबलाई के को दशै ? त्यसैले दशैमा धेरै तडक भडक देखाउनु राम्रो पक्ष होइन् । घाँटी हेरेर हाड निल्नुपर्दछ । आफ्नो क्षमता अनुसार चाडपर्व मनाउन जान्नु पर्दछ । दशैका नराम्रा पक्षहरुलाई हटाउदै चाडपर्वको संरक्षणमा लाग्नु आजको अनिवार्य आबश्यकता हो । संस्कृतिलाई कहिल्य पनि मास्नु हुदैन । संस्कृति हराए सबैको बिनाश हुन्छ । चाडपर्व र संस्कृतिमा हाम्रो मौलिक जिवन बाँचेको छ ।
महामारीसँगै दशै
सदाको बर्ष झै यस बर्ष पनि वडादशैं हामी सबैको घर–आँगनमा आइसकेको छ । तर, यस बर्षको दशैं सोचे जस्तो उल्लासमय छैन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड–१९ को अहिले विश्वभर त्रास बढाइरहेको हँुदा छिमेकी देश भएको नाताले पनि प्रभाव नपर्ने कुरै भएन । अहिले विश्व समुदाय नै कोभिड–१९ बिरुद्ध लडिरहेको छ । त्यसैले आम नागरिक यस बर्ष चाडपर्ब मनाउने वा नमनाउने अन्योलमा छन् । यो लेख तयार पार्दा सम्म नेपालमा झण्डै १ लाख २० हजार मान्छे कोभिड–१९ वाट संक्रमित भएका छन भने ७०० जनाको ज्यान गईसकेको छ । परदेशमा रहेका आफन्तहरु पनि यसपाली घर आउने निधो छैन । जो आए तिनीहरु घरमा वेरोजगार छन् । जो जहाँ छौ त्यही बस्नु पर्ने बाध्यता भएको छ । आफन्त सँग बाक्लो भेटघाट गर्दा पनि मरिन्छ कि भन्ने डर पनि उत्तिकै छ । दशै मनाउने खर्चको व्यवस्थापन गर्न गाहृो छ । महङ्गी्ले बजार तातेको छ । सकभर नयाँ कपडा नकिन्न सरकारले अनुरोध गरेको छ । केटाकेटी नयाँ कपडा लाउन नपाएको र मामाघर जान नपाएकोमा चिन्तित छन् । महिला दिदी–बहिनीलाई दशैंको लागि सेल र फिलिरोटी हालौ वा नहालौ भन्ने झै भएको छ । बर्षभरि कुरेर घर आँगनमा आएको चाडमा रमाउन नपाउदा पश्च्याताप पो लाग्ने हो कि भन्ने चिन्ता उत्तिकै छ ।
अझै कोभिड–१९ को नियन्त्रण कहिले हुन्छ भनेर भन्न सक्ने अबस्था छैन । दिनप्रतिदिन कोराना संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । त्यसैले यो बर्ष कोरोनाको महामारी उच्च हुँदा घरमै बसेर परिवारका सदस्यहरुवीच दशैं मनाउनु पर्दछ । टाढा–टाडा रहेका आफन्तहरुसँग मोवाइल, म्यासेन्जर, भिडियो कलवाट पनि भलाकुसारी गर्न सकिन्छ । हाम्रो सानो भूलले ठुलो गल्ति भयो भने हामी बर्बाद हुन्छौ । अतः हामी सुरक्षित भएर बस्यौ भने अर्को वर्ष पनि दशै तथा तिहार जस्ता ठुला चाडपर्व मनाउन र भेटघाट गर्न सक्छौं । आफू पनि बाँचौ र अरुलाई पनि बचाऔं । चाडपर्वको नाममा महामारी नफैलियोस् । सबैलाई दशैंको शुभकामना ! सबैको जीवन सुखमय रहोस् ।।
