> राष्ट्रिय > यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई


यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई

काठमाडौँ, ५ असोज ।यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण हुनेछ ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको स्मृतिमा स्थापना गरिएको कोषबाट हरेक वर्ष पुरस्कार वितरण गरिँदै आएको छ । १ लाख ५१ हजार राशिको पुरस्कार गतवर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो ।

यसवर्षको १ लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिने काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकम (काठमाडौँ) लाई दिइने भएको छ । यसवर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) ले पाउने भएका छन् । क्रियाशील पत्रकारिता पुरस्कार जनही २० हजार राशिको छ ।

१५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट यसवर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि.क. (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) पुरस्कृत हुने भएका छन् ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईले पाउने भएका छन् ।

सरकारको हस्तक्षेपका कारण वर्गीकरणको नतिजा आएनसः काउन्सिल
प्रेस काउन्सिल नेपालले सरकारी हस्तक्षेपका कारण आर्थिक वर्ष २०७५/०७६ को पत्रपत्रिकाको वर्गीकरणको नतिजा निकाल्न नसकिएको जनाएको छ । वार्षिकोत्सवको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सारा प्रक्रिया पूरा गरिसकेर समयमा नै आ.व.२०७५/२०७६ का पत्रपत्रिकाको नतिजा निकाल्ने कार्य सरकारी हस्तक्षेपका कारण पूरा गर्न नसकिएको प्रष्ट पार्नुभएको छ ।

सरकारसँगको स्वायत्तताको लडाँइका कारण आफूहरूमाथि हस्तक्षेप भएको उहाँको भनाई छ, ‘स्वायत्तताको पक्षमा उभिएकै कारण कोरोना कहरका बीच पनि सारा प्रक्रिया पूरा गरिसकेर समयमा नै आ.व.२०७५÷२०७६ का पत्रपत्रिकाको नतिजा निकाल्ने कार्य सरकारी हस्तक्षेपका कारण पूरा गर्न नसकिएको तीतो यथार्थ तपाईँहरूसामु प्रष्ट राख्न चाहन्छु ।’ शुभकामना सन्देशमा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *