अरुण पौडेल
प्यूठान, ६ चैत ।
एसईई परीक्षाका लागि परीक्षा केन्द्र पुगेका परीक्षार्थी विहीबार घर फर्केका छन् । सरकारले बुधबार साँझ एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै परीक्षार्थी विहीबार विहान घर फर्केका हुन् ।
जिल्लामा चार हजार परीक्षार्थी परीक्षामा सामेल हुन लागेको थिए । नियमित तर्फ चार हजार एक सय ६८ र ग्रेड वृद्धि तर्फ १२५ परीक्षार्थी रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले जनाएको छ । परीक्षा सञ्चालनका लागि जिल्लाका १७ वटा परीक्षा केन्द्र तोकिएको थियो ।
परीक्षार्थी अन्यौलमा
परीक्षा स्थगित भएपछि परीक्षार्थी अन्यौलमा परेका छन् । अब कहिले परीक्षा हुन्छ भन्ने अन्यौलता छाएको परीक्षार्थीको प्रतिक्रिया छ । दैनिक आउजाउ गर्ने गरी तयारी गरेको थिए, भानुभक्त मावि बर्वोटका परीक्षार्थी आसना पौडेलले भन्नुभयो, अब परीक्षा नै रोकियो । परीक्षाका लागि सदरमुकाम खलंगाका केन्द्र तोकिएकाले त्यसैको तयारी गरिरहेका बेला परीक्षा स्थगित हुँदा अन्यौल बढेको उहाँको भनाई छ । अरु साथीहरु खलंगा पुगेर भाडामा बसिसको थिए, उहाँले भन्नुभयो, अहिले घर फर्किएका छन ।
फोटो :जोगिन्द्र मल्ल/पत्रकार
ढिला निर्णय
सरकारले परीक्षा स्थगितको ढिला निर्णय गर्दा परीक्षार्थीको गुनासो धेरै आएको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष पिताम्बर पौडेलले बताउनुभयो । केहि दिन अगाडी निर्णय गरेको भए विद्यार्थीले दुःख पाउँदैनथे, उहाँले भन्नुभयो, सवै परीक्षार्थी घर फर्किसके ।
परीक्षा केन्द्रमा पुगेको प्रश्न पत्र फिर्ता भइसकेको भानुभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष चक्रपाणी पौडेलले बताउनुभयो । विद्यार्थीले गरेको तयारी अब के हुने भन्ने प्रश्न खडा भएको छ, विद्यार्थीको गुनासो सुनाउँदै उहाँले भन्नुभयो, विद्यार्थीलाई ट्युसन पढ्न, कक्षा सञ्चालन गर्न पनि बन्द भएको छ । पढेका कुरा विर्सने होकी भनेर विद्यार्थीले गुनासो गरेका छन् ।