> समाज > कोरोना जोखिमबाट बच्न प्यूठान प्रहरीको मास्क अभियान


कोरोना जोखिमबाट बच्न प्यूठान प्रहरीको मास्क अभियान

प्यूठान, २८ साउन । कोरोनाको जोखिम कायमै रहेकोले जोखिमबाट बच्न जिल्लामा प्रहरीले मास्क अभियान चलाएको छ ।

लकडाउन खुकुलो भएसँगै मानिसहरुको भीडभाड बढ्न थालेपछि प्रहरीले मास्क अभियान सञ्चालन गरेको हो । कोभिड–१९ को जोखिम कम गर्न जिल्लाका विभिन्न ठाउँमा प्रहरीले समुदायलाई सचेत बनाउँदै मास्क अभियान चलाइरहेको छ ।

मास्क नलगाई सडकमा हिड्ने व्यक्तिलाई तपाईको मास्क खोइ ? भन्दै प्रहरी प्रमुख आफै सडकमा पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो । “अरु जिल्लामा प्रहरीले जरीवाना समेत गरेको छ” प्रहरी प्रमुख कार्कीले भन्नुभयो, “हामीले सचेतना अभियान चलाइरहेका छौं ।”

जिल्लाका स्थानीय तह, समुदाय संघ÷संस्था, नागरिकसमाजसँग समन्वय गरेर मास्क अभियान चलाइएको प्रहरीले जनाएको छ । सडकमा पैदल यात्री, सवारी चालक, यात्रु लगायत मास्क नलगाएका व्यक्तिलाई मास्क दिने गरिएको छ । माण्डवी ग्रामीण विकास संस्थाका अध्यक्ष लव अधिकारीले सडक चोकमा बसेर मास्क लगाउन उत्प्रेरित गरेको बताउनुभयो । उहाँले कोरोना जोखिम कायमै रहेकाले संस्थाले अभियानमा हातेमालो गर्दै बुधबार जस्पुरमा अभियान गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्यूठानले कोरोनाको जोखिम कायमै रहेकाले सावधानी अपनाउन सार्वजनिक रुपमा अपिल गर्दै आएको छ । सरकारले जोखिमबाट बच्नका लागि गरेको आह्वान अन्र्तगत भौतिक दुरी कायम, अनिवार्य मास्कको प्रयोग, स्यानिटाइजर वा सावुनपानीले हात धुन कार्यालयले सार्वजनिक रुपमा अपिल गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *