> समाज > गाउँपालिका अध्यक्षको जन्मदिन : आइसोलुसनमा बसेकालाई खानाको व्यवस्थापन


गाउँपालिका अध्यक्षको जन्मदिन : आइसोलुसनमा बसेकालाई खानाको व्यवस्थापन

प्यूठान, २२ असार । ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले जन्मदिनको अवसरमा आइसोलुसनमा बसेका व्यक्तिलाई खानाको व्यवस्थापन गर्नुभएको छ ।

आज ४८ औं जन्मदिनको अवसरमा अध्यक्ष शाहले आइसोलुसनमा बसेका २२ जना व्यक्तिलाई दुई दिनको खाना खर्चको व्यवस्थापन गर्नुभएको हो । दुई दिनका ेखाना खर्च बराबरको रकम १८ हजार ९ सय ६४ रुपियाँ शाहको श्रीमति इश्वराले गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतलाई उक्त रकमको चेक हस्तान्तरण गरेर खुशी हुँदै श्रीमानको जन्मदिन मनाएको बताउनुभयो ।

कोरोना संक्रमितलाई माया, ममता, सद्भाव र सहयोगले रोगसंग लड्न थप उर्जा मिल्ने इश्वराले बताउनुभयो । फजुल खर्च गर्ने परिपाटीलाई अन्त्य गर्नुपर्ने सन्देश सहित उक्त सहयोग गरिएको उहाँको भनाई छ ।

उपाध्यक्ष बस्नेतले जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल , कार्यपालिका सदस्यहरु सहित अन्य कर्मचारीको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *