प्यूठान, ६ जेठ ।
कोरोना भाईरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सामुदायिक रेडियोहरुको भूमिकालाई थप प्रभावकारी बनाउने सामुदायिक रेडियोहरुले बताएका छन् । सामुदायिक रेडियो जिल्ला समन्वय समितिको मंगलबार विहान बसेको बैठकले महाविपत्तिको यस समयमा रेडियोहरु प्रभावकारी सूचनाको माध्यम भएकाले भुमिकालाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
समन्वय समितिका संयोजक पदम सुवेदीको अध्यक्षतामा बसेको बैठकले विपत्तिको समयमा रेडियो संचालन तथा व्यवस्थापनमा समस्या पैदा भएको समेत समिक्षा गरेको छ । ‘हामीलाई व्यवस्थापनमा समस्या परेको छ ।’ ,संयोजक सुवेदीले भन्नुभयो, ‘तर पनि रेडियोकर्मीहरुको भूमिका प्रशंसनीय छ ।’
लक डाउनका कारण सर्वसाधारण समस्यामा परेको खवरहरु आईरहेकाले समस्या समाधानका लागि सरोकारवाला वीच समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय भएको संयोजक सुवेदीले जानकारी दिनुभयो ।
बैठकमा सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष तथा प्रमुख अतिथि भुवन सिंहले महाविपत्तिको समयमा सामुदायिक रेडियोहरुले निभाएको भुमिकाको प्रशंसा गर्नुभयो ।
बैठकले सामुदायिक रेडियो महिला आवाजका अध्यक्ष बसन्ता भट्टको अल्पायुमा भएको दुःखद् निधन प्रति शोक प्रस्ताव समेत पारिद गरेको छ । भट्टको गत वैशाख ११ गते निधन भएको थियो ।
सुरक्षा सामाग्री हस्तान्तरण
यसैवीच सामुदायिक रेडियो प्रसारक संघ (अको–याव)का उपाध्यक्ष भुवन सिंहले सामुदायिक रेडियोहरुका लागि सुरक्षा सामाग्री हस्तान्तरण गर्नुभएको छ । विपत्तिको समयमा समेत काममा खट्ने रेडियोकर्मीहरुका लागि स्यानीटाईजर, माक्स, ग्लोव्स, सावुन प्रदान गर्नुभएको हो ।
सहयोग सामाग्री प्रयाप्त नभए पनि विपत्तिको समयमा सबैले आ–आफ्नो ठाँऊबाट सहयोग गर्नु आवश्यक रहेको उपाध्यक्ष सिंहको भनाई थियो ।