> आर्थिक/बिकास > प्यूठानमा कोभिड विशेष कृषि कार्यक्रम


प्यूठानमा कोभिड विशेष कृषि कार्यक्रम

प्यूठान, २ जेठ । कोभिड–१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न प्यूठानमा कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुने भएको छ ।

पाँच नम्वर प्रदेशको मन्त्रिपरिषद बैठकले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । कार्यक्रमका लागि विनियोजन गरिएको ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च गर्न सक्ने प्रावधान राखिएको छ ।

कार्यक्रम अन्र्तगत कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया विनियोजन गरिएको छ । बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी, प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च हुने र ५ सय किसान लाभान्वित हुने अनुमान गरिएको छ । कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने र प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने निर्णय गरिएको छ ।

व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम— दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन हुने भएको छ । जसबाट ७ हजार लाभान्वित हुनेछन । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने र मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने निर्णय गरिएको छ । कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ ।

त्यसैगरि कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम अन्र्तगत२१ करोड ८० लाख खर्च गर्ने निर्णय भएको छ । कार्यक्रम प्रदेशका १ सय ९ वटै पालिकामा सञ्चालन गर्ने निर्णय भएको छ । व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने उल्लेख छ । प्रति किसान २० हजारका दरले सहयोग गर्ने र त्यसबाट १० हजार ९ सय किसान लाभान्वित हुनेछन।

त्यसैगरी ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड विनियोजन गर्ने निर्णय गरेको छ । २ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने बैठकले निर्णय गरेको छ ।

दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया विनियोजन गर्ने निर्णय भएको छ । दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने बैठकले निर्णय गरेको छ ।

बैठकले बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया विनियोजन गरेको छ । सबै जिल्लामा सञ्चालन गर्ने कार्यक्रमबाट २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने निर्णय भएको छ । प्रति बिघा २० हजार रुपैंयाका दरले अनुदान दिने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *