प्यूठान । स्वर्गद्वारी नगरपालिका-२ कि प्रमिला बिक कक्षा-४ को वार्षिक परीक्षा दिनुभयो । अहिले फुर्सदको समयमा प्रमिला जंगल गएर लालिगुराँस टिप्नुहुन्छ । पर्यटकीय तिर्थस्थल स्वर्गद्वारी आउने पर्यटकहरुलाई बेच्नुहुन्छ ।
उहाँसँगै आनन्द बिक पनि कक्षा ५ को परीक्षा सकेर अहिले लालिगुराँस बेचेर आम्दानी गर्दै हुनुहुन्छ । फुर्सदको समयमा स्वर्गद्वारी आउने पर्यटकलाई मनपर्ने र केही आम्दानी पनि हुने भएकाले बिक्री गर्ने गरेको आनन्दले बताउनुभयो । `दैनिक ५/७ सय कमाई हुन्छ ।´ ,उहाँले भन्नुभयो, `खाली समयमा पढाइ खर्च पनि जुट्छ ।´
यो मौषम लालिगुराँस फुल्ने समय हो । पहाडी क्षेत्रमा फुल्ने लालिगुराँस हरकसैलाई मन पर्छ । लालिगुराँस लिएर फोटो खिच्न पर्यटकहरु लालायित हुने भएकाले यहाँका बालबालिकाले लालिगुराँस बेच्ने गरेका हुन ।
