प्यूठान । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि उपलब्ध नहुँदा प्यूठान अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ । अस्पतालमा सिटामोल, गर्भवती महिलाका लागि आइरन चक्की तथा ग्यास्ट्रिकसम्बन्धी औषधिलगायत आवश्यक औषधीहरू अभाव भएको जनाइएको छ ।
प्यूठान जिल्ला अस्पतालका स्टोरकिपर नविन थापाका अनुसार धेरै खपत हुने औषधिहरू समयमै नआउँदा समस्या देखिएको हो। ‘सिटामोलको स्टक छैन, करिब ७–८ महिनादेखि गर्भवती महिलालाई आइरन चक्की दिन सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘धेरै प्रयोग हुने औषधिहरू छिट्टै सकिने हुँदा अभाव भएको हो।’ प्रदेश सरकारमार्फत आउने औषधी प्राप्त नभएकाले समस्या देखिएको उहाँले बताउनुभयो ।
प्रदेश अन्तर्गतका अस्पतालहरूमा प्रदेश सरकारले ९८ प्रकारका औषधि खरिद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि चालु आर्थिक वर्षमा ती औषधी प्राप्त नभएको अस्पतालले जनाएको छ । औषधि खरिद प्रक्रिया जारी रहेकाले उपलब्ध हुन केही समय लाग्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई उद्धृत गर्दै स्टोरकिपर थापाले जानकारी दिनुभयो ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने औषधिमा मात्र भर पर्नु नपर्ने भन्दै स्थानीय तहहरूले आवश्यक औषधि आफैं खरिद गरी स्वास्थ्य संस्थामार्फत वितरण गर्दै आएका छन् । निःशुल्क उपलब्ध गराइने औषधिको सूची स्पष्ट भए पनि समयमै आपूर्ति नहुनु पुरानै समस्या रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
स्वास्थ्य कार्यालय प्यूठानका वरिष्ठ खोप अधिकृत मधुसुदन खड्काका अनुसार औषधि अभाव हुन नदिन पालिकाहरूले आवश्यक औषधि खरिद गरी स्वास्थ्य संस्थामार्फत वितरणको व्यवस्था मिलाएका छन् ।
मल्लरानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने औषधिसँगै पालिकामार्फत थप औषधि खरिद गरी स्वास्थ्य संस्थामा अभाव हुन नदिएको बताउनुभयो । उहाँका अनुसार निःशुल्क औषधीसँगै नसर्ने रोगसम्बन्धी औषधि पनि थप खरिद गरेर उपलब्ध गराइएको छ ।
गत वर्षदेखि गर्भवती महिला र किशोरीहरूका लागि आइरन चक्कीसमेत पालिकामार्फत खरिद गरी वितरण गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । प्यूठानका पालिकाहरूले किशोरीहरूलाई दुई चरणमा २६ हप्तासम्म आइरन चक्की वितरण गर्दै आएका छन् ।
यसवर्ष जिल्लाका १३ हजार ५ सय २८ किशोरीलाई १३ हप्ताका लागि आइरन चक्की वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा भने २० हजार ६०३ किशोरीलाई २६ हप्तासम्म आइरन चक्की दिइएको थियो । गत आर्थिक वर्षमा ५ हजार ९३ जना गर्भवती महिलालाई पनि आइरन चक्की वितरण गरिएको थियो ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका सूचना अधिकारी तथा वरिष्ठ शाखा अधिकृत माधव पोख्रेलका अनुसार संघीय सरकारमार्फत आउने केही औषधि प्राप्त नभएकाले समस्या देखिएको हो । उहाँका अनुसार प्रदेशमार्फत वितरण हुने औषधि खरिद प्रक्रियामा रहेकाले उपलब्ध हुन केही समय लाग्नेछ ।
