> राजनीति > अभियुक्तले अरुलाई उपदेश दिने अधिकार राख्दैनन् : सूर्य थापा


अभियुक्तले अरुलाई उपदेश दिने अधिकार राख्दैनन् : सूर्य थापा

प्यूठान । सहकारी बचत रकम अपचलन सम्बन्धी संंसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले अदालतमा मुद्धा खेपिरहेका अभियुक्तले जनताका वीचमा आएर अरुलाई उपदेश दिने अधिकार नराख्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई उहाँले अदालतमा चलिरहेको मुद्धाबाट सफाई पाए मात्र जनताको वीचमा आउन आग्रह गर्नुभयो ।

शनिवार प्यूठानको जुम्रिकाँडामा भएको चुनावी प्रचार कार्यक्रममा बोल्दै उहाँले बचतकर्ताको बचत रकम फिर्ता गरेर मात्र जनताको वीचमा आएर बोल्न आग्रह गर्नुभएको हो । ‘प्यूठानी जनता वचतकर्ताको बचत रकम दुरुपयोग गर्ने व्यक्तिलाई राजनीतिक नेताको रुपमा स्विकार गर्न तयार छैनन ।’ ,उहाँले भन्नुभयो, ‘सफाई नपाएसम्म जनताको वीचमा अनुहार देखाएर अरुलाई उपदेश दिने अधिकार राख्दैनन् ।’

६५ करोड ५४ लाख बचत रकम हिनाविना गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख भएकोले आफुलाई शुद्ध पारेर आउन सभापति थापाले लामिछानेलाई चुनौती दिनुभयो । कानुनका छिद्रहरुमा टिकेर टेलिभिजन चलाउन सरकारीको पैसा लगेर हिनाविना गरेकोले कारवाहीका लागि सिफारिस गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

 

‘सात करोड धरौटी अदालतमा बुझाएर बाहिर हिड्डुल गर्न पाउनुभएको छ ।’ , उहाँले भन्नुभयो, ‘सहकारी ठगीको आरोप हजार, लाखमा होइन करोडमा छ ।’ छानविन समितिमा सबै दलका सांसदहरु सहभागी भएको भन्दै उहाँले प्रतिवेदन सर्वसम्मत रुपमा तथ्य र प्रमाणका आधारमा तयार गरिएको स्पष्ट पार्नुभयो ।

रास्वपा सभापति लामिछानेले शुक्रबार प्यूठानमा भएको चुनावी सभालाई सम्बोधन गरेको भोलिपल्टै छानविन समितिका सभापति समेत रहनुभएका प्यूठानबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापाले यस्तो बताउनुभएको हो ।