प्यूठान । नेकपा (एमाले)का नेता सूर्य थापाको तिखो र आक्रामक अभिव्यक्ति सुन्दै आएका प्यूठानीले यसपटक चुनावी प्रचार शैली देखेर आश्चर्यचकित परेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेर अहिले चुनावी भेटघाटका लागि मतदाताको बस्ती बस्तीमा चुनावी प्रचारका क्रममा देखा परेका विभिन्न तरिका र शैली अहिले चर्चामा छन् ।
चुनावी प्रचारका क्रममा उहाँको साधारण शैली र व्यवहार देखेर मतदाता दङ्ग परेका हुन् । संचार माध्यम र सोसल मिडियामा कडा शैलीमा आफ्नो अभिव्यक्ति दिने नेता थापा ‘यति साधारण पनि छन्’ भन्ने कसैले अनुमान समेत गरेका थिएनन् ।
मतदाता भेट्ने क्रममा डोको बन्दै गरेकासँगै डोको बुन्न कस्सिए, गारो लगाउँदै गरेकासँग हथौडी लिएर ढुङ्गा मिलाउन थाले, मकै ओसाउँदै गरेकासँग नाङ्गलो लिएर आसाउन थाले । मकै भुट्न लागेको भिडियो देखेर पनि मतदाता दङ्ग छन् । सूर्य थापाको यस्ता अनपेक्षित गतिविधिले उहाँ प्रतिको आम बुझाईमा समेत परिवर्तन आएको छ ।
आफ्ना कुरा आत्मविश्वासका साथ र पार्टीको आधिकारिक धरणा स्पष्टसँग राख्ने उहाँको शैलीलाई ‘कडा’ भन्ने गरिएको एमालेका जिल्ला नेता नेगनसिंह कवरले बताउनुभयो । ‘आफ्ना कुरा स्पष्टसँग राख्नुहुन्छ, त्यसलाई आम रुपमा ठाडो शैलीको रुपमा बुझाई पाइन्छ ।’ ,उहाँले भन्नुभयो, ‘मनमा कुरा राखेर बोल्ने मान्छे होइनन, नजिकबाट नचिन्ने सबैलाई थाहा नहुन सक्छ ।’ संसदमा आफ्ना कुरा राख्दा प्रतिपक्षीसँग आक्रामक त हुन्छन् नै आफ्नै पार्टीका तर्फबाट मन्त्री बनेकाहरुको कडा आलोचनाले समेत थापाले आफ्नो छवि ‘कडा छन्’ भन्ने बनाएको उहाँको बुझाई छ ।
यसपटकको निर्वाचन प्रचारको क्रममा स्थानीयले नेता थापा यति सामान्य छन् भन्ने नजिकबाट बुझ्न पाएको मल्लरानी गाउँपालिका–३ चौरपानीका विष्णु पोख्रेल बताउनुहुन्छ । ‘पार्टीका महत्वपूर्ण गतिविधिहरुमा म पुग्ने गरेको छु, चितवन महाधिवेशन, काठमाण्डौ महाधिवेशनमा पनि पुगे ।’ ,उहाँले भन्नुभयो, ‘माइक अगाडी देख्ना साथ कड्कीन थाल्छन् ।’ उहाँको ‘त्यो’ स्वभाव र ‘यो’ स्वभाव आकास–जमिन फरक भएको पोख्रेलले बताउनुभयो ।
चुनावी प्रचारका क्रममा नेता थापाको अस्वभाविक स्वभाव बारे सामाजिक सञ्जालमा नकारात्मक र सकारात्मक दुवै खालका मिश्रित टिप्पणी पाइन्छ । धेरै ‘ट्रोल’ पनि बने । ‘सामाजिक सञ्जालमा राखिएका भिडियो तथा फोटो सामाग्रीहरु लाखौं पटक हेरिएको छ ।’ ,थापासँगै चुनावी अभियानमा रहेका प्रेस चौतारी प्यूठानका सचिव बोमबहादुर परियारले भन्नुभयो, ‘सूर्य थापा यति सरल र सहज पनि छन् भन्ने यसपटकको निर्वाचनमा मतदाताले राम्रैसँग बुझ्ने मौका पाएका छन् ।’ सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणी प्रति नेता थापाले खासै चासो नदिने गरेको उहाँले बताउनुभयो ।
चुनाव प्रचारकै क्रममा मतदातासँगै नेता थापा नाँच्छन् । गीत घन्किन थालेपछि मतदातासँगै नाँच्ने गरेका छन् । आफ्ना प्रतिपष्र्धी नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोख्रेललाई एमालेकै चुनावी गीतमा सँगै नचाउन समेत भ्याउनुभयो ।
चुनाव केन्द्रीत अभियानकै क्रममा उहाँले आफुलाई साधारण किसानको छोराको रुपमा परिचित गराउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘निरक्षर किसान बा–आमाको छोरा हुँ, तपाईको मतको मात्र होइन मनको प्रतिनिधि बन्न चाहन्छु ।’
आजको अन्नपूर्ण पोष्ट दैनिकबाट
