प्यूठान । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिम लुम्बिनी लायन्सले संचालन गरेको ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ प्यूठान आईपुगेको छ । लुम्बिनीका सबै जिल्लाका लागि तय गरिएको टुर प्यूठान आइपुगेको हो ।
बाँकेबाट शुरु भएको यात्रा बर्दिया, रुकुम, रोल्पा हुँदै प्यूठान आईपुगेको छ । प्रदेशका बाह्रै जिल्लामा विजय उत्सव मनाउन र खुसी साट्नका लागि यात्रा तय गरिएको आयोजकले जनाएको छ । प्यूठानमा ट्रफी सहित प्रसिद्ध तिर्थस्थल स्वर्गद्धारीबाट शुरु भएको यात्रा बुधबार भिंगृ, जस्पुर र जुम्रि पुगेको छ । यात्राका क्रममा खेलप्रेमी लगायत जिल्लावासीहरुले सुखियाली साटेका छन् ।
यात्रा टोलीलाई जस्पुरमा स्वागत गर्दै विघटित प्रतिनिधि सभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापाले जिल्लावासीको तर्फबाट विजयी टिमलाई बधाई ज्ञापन गर्नुभयो । नेपालको आफ्नो मौलिक र सबैभन्दा ठूलो प्रतियोगिता लुम्बिनीले विजयी हाँसिल गर्दा सबैमा सुखियाली छाएको उहाँले उल्लेख गर्नुभयो ।
खेल अवधिभर लुम्बिनी लायन्सका समर्थक रहेका यहाँका स्थानीय ट्रफी सहित टिमलाई आफ्नै बस्तीमा पाउँदा अझै उत्साहित भएका छन् । ट्रफी अवलोकन गर्न र फोटो खिच्न स्थानीयको घुँईचो नै लाग्ने गरेको छ । बिहिबार जिल्लाका थप स्थानहरुमा यात्रा जारि रहनेछ । टुरमा रहेको टोली बाग्दुला, खलंगा, बरौला, दरभान हुँदै दाङ प्रवेश गर्ने लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले जानकारी दिनुभयो ।
सबै जिल्लामा पुगेर उत्सव मनाएपछि पुस १६ गते बुटवलमा कन्सर्ट सहितको ‘ग्रान्ड सेलिब्रेसन’ गर्ने र ‘न्यू इयर इभ’ समेत मनाउने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।



















