प्यूठान । जिल्लाका पर्यटकीय गन्तव्य मध्येको एक झाँक्रिस्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि सरोकावाला निकायहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रले आयोजना गरेको कार्यक्रम झाँक्रिस्थानमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले यहाँ पुर्वाधार विकासका लागि सवैपक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । सिमित श्रोत र साधनका वीच स्थानीय सरकारको मात्र भर पर्नुभन्दा नीजि क्षेत्र, संघसस्था, सहकारी, स्थानीयवासीहरुको सहभागितामा पर्यटन विकासमा टेवा पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्यूठान सदरमुकाम नजिकै रहेको धार्मिक आस्थाको केन्द्र झाँक्रिस्थानको पर्यटन विकासका लागि सबैले योगदान गर्नुपर्ने आवश्यकतालाई महसुस गरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनुभयो ।
झाँक्रिस्थानको पर्यटन विकासका लागि नीजि क्षेत्र लगानीका लागि तयार रहेकोले स्थानीय, प्रदेश र संघीय सरकारले यसको वातावरण तयार गर्नुपर्ने प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले पवित्र धार्मिक स्थल झाँक्रीस्थान आउने पर्यटकहरुलाई लक्षित गरी प्रवद्र्धनात्मक गतिविधिहरु संचालन गर्न र यसको नेतृत्व लिन बजार क्षेत्रलाई अनुरोध गरेका थिए ।
