> आर्थिक > आयआर्जन सुधार गर्न कुखुरापालनलाई ब्यबस्थित गर्दै कोल्छापवासी


आयआर्जन सुधार गर्न कुखुरापालनलाई ब्यबस्थित गर्दै कोल्छापवासी

प्यूठान । आयआर्जन सुधार गर्नका लागि प्यूठान नगरपालिका–९ कोल्छापका स्थानीयले कुखुरापालनलाई व्यवस्थित गर्न थालेका छन् । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानको सहयोगमा कुखुरापालनलाई व्यवस्थित गर्न थालेका हुन् ।

 

परम्परागत शैलीमा हुँदै आएको कुखुरापालनलाई थप व्यवस्थित गर्न थालिएको स्थानीय मिना कुमारी कुमालले बताउनुभयो । कार्यालयको सहयोगमा व्यवस्थित खोर निर्माण गरी ग्रामीण कुखुराका चल्ला राखिएको उहाँले बताउनुभयो । कुखुरा विक्रिबाट आम्दानी हुने उहाँको भनाई छ ।

 

कार्यालयले यहाँका २० परिवारलाई खोर निर्माण, औषधी, दाना, दानापानिका लागि भाँडा, चल्ला वितरणका साथै प्राविधिक सहयोग उपलब्ध गराएको छ । सीमान्तकृत समुदायको आयआर्जन तथा पोषण सुधारका लागि लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम अन्रतगत सहयोग उपलब्ध गराएको कार्यालय प्रमुख विनोद शर्माले बताउनुभयो । दश लाख बजेट विनियोजन भएकोमा किसानहरुको कामका आधारमा ८ लाख ८८ हजार सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो ।

 

कोल्छाप कृषि तथा पशुपन्छी कृषक समुह गठन गरी कुखुरापालनलाई व्यवस्थित गर्न थालिएको स्थानीय विन्दु कुमालले बताउनुभयो ।

 

बुधबार अनुगमन कार्यक्रम
कोल्छापमा किसानहरुले शुरु गरेको व्यवस्थित कुखुरापालनको बुधवार जिल्ला स्तरीय एक टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा किसानहरुले चल्लाहरु ठूलो हुँदै जाँदा खोरलाई थप प्रभावकारी बनाउने उल्लेख गरेका छन् ।

 

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानको संयोजनमा पुगेको अनुगमन टोलीले इसान एग्रो फर्म विजुवारको समेत अनुगमन गरेको छ । कार्यालयको सहयोगमा यहाँ १ लाख ५० हजारको लागतमा सिंचाई कुलो निर्माण सम्पन्न भएको छ । सिंचाई कुलोले ड्रागन खेतीमा टेवा पुगेको फर्मका सञ्चालक लोकबहादुर गुरुङले बताउनुभयो ।


त्यस्तै टोलीले माण्डवी गाउँपालिका–५ आँपचौरमा च्यान सिंङ सुनारको बाख्रा फर्मको अवलोकन गरेको छ । बाख्रा प्रवद्र्धन कार्यक्रम अन्तरगत यस वर्ष कार्यालयले फर्मलाई नश्ल सुधारका लागि बोयर बोका सहयोग, कम्वाइण्ड मिल र बाउण्ड्रीका लागि तार जाली सहयोग गरेको छ । लागत साझोदारीमा भएको कार्यक्रम अन्तरगत ८१ हजार रुपैंया कार्यालयबाट सहयोग प्रदान गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । बाख्रा, खसि, बोका, पाठा–पाठी गरी फर्ममा अहिले ७० वटा रहेको च्यान सिंङले जानकारी दिनुभयो ।