कमल वि.क.
प्यूठान, २१ वैशाख ।
मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगामा रहेका २ वटा क्वारेन्टाइन स्थलका २४ जनालाई रोग प्रतिरोधात्मक औषधी आइतवार विरतण गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थय केन्द्र प्यूठानको समन्वयमा गाउँपालिका स्तरीय क्राइसिस म्यानेजमेन्ट समितिको निर्णय अनुसार क्वारेन्टाइनमा औषधी वितरण गरिएको कविराज निरिक्षक टुक बहादुर रोकाले जानकारी दिनुभयो ।
प्रतिरोधात्मक क्षमता बृद्धी गर्ने औषधी गुडुची, पाखनवेद, अमला लगायतको मिसावटबाट बनाइएको पाउडर चिया जस्तै पकाएर खान सकिन्छ ।
साथै आवश्यक परेमा तनाव व्यवस्थापन सम्बन्धि मनोविमर्श गरिने निमित्त कार्यलय प्रमुख शिशिर पोख्रेलले बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका सबै स्थानीय तहको क्वारेन्टाइनमा रहेका व्यक्ति तथा होम क्वारेन्टाइनमा रहेका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक औषधी वितरण गरिने जनाएको छ ।
वैशाख १८ गते प्रमुख जिल्ला अधिकारी, समन्वय प्रमुख, सुरक्षा निकाय, जिल्ला स्वास्थ्य कार्यालय, मनोचिकित्सक वा मनोविमर्शकर्ता, योग प्रशिक्षक सहितको संयुक्त निर्णयले स्थानीय तह मार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सामाजिक विकास मन्त्रालय ५ नम्बर प्रदेशको निर्देशन अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतीबाट कोरोना भाइरस कोभिड–१९ (कोरोना भाईरस) रोकथाम तथा व्यवस्थापन सम्बन्धी स्रोत सामाग्री २०७७ कार्यान्वयन बमोजिम कार्यक्रम सञ्चालन गरिएको हो ।
