> राष्ट्रिय > कोरोना प्रभावित क्षेत्रमा पत्रकारको अनुगमन


कोरोना प्रभावित क्षेत्रमा पत्रकारको अनुगमन

प्यूठान, १९ बैशाख ।
नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले कोरोना संक्रमित जिल्लाको संयुक्त अनुगमन गरेको छ । प्रभावित क्षेत्रमा पत्रकारहरुले स्रोत साधन तथा स्वास्थ्य सामाग्रीको अभावमा उच्च जोखिम मोलेर पत्रकारिता गरिरहेको अनुगमन टोलीले निष्कर्ष निकालेको छ ।
नेपालमा सबैभन्दा बढी २८ जना संक्रमित देखिएको प्रदेश नं.१ को उदयपुरसहित प्रदेश नं २ मा संक्रमण देखिएको पर्सा र बारा जिल्लाका पत्रकारहरुको अवस्थाको बारेमा नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले स्थलगत अनुगमन गरेको हो ।

संयुुक्त अनुगमनको प्रारम्भिक प्रतिवेदन जारी गर्दै महासंघले अनुगमनका क्रममा ती जिल्लाका पत्रकारहरुले स्रोत साधन तथा स्वास्थ्य सामग्रीको अभावमा उच्च जोखिम मोलेर पत्रकारिता गरिरहेको पाइएको जनाएको छ । नेपालकै सबैभन्दा बढी संक्रमित रहेको उदयपुरको भुल्के क्षेत्रमा पत्रकारहरुले आवश्यक स्वास्थ्य सामग्रीको अभावमा रिपोर्टिङ गरिरहेको अनुगमन टोलीले जनाएको छ ।
प्रतिवेदन अनुसार पत्रकारहरुको स्वास्थ्य परीक्षणको समेत व्यवस्था नगरको, पारिवारिक दबाव र संक्रमणको खतरा मोल्दै जनतालाई सुसूचित गराउने दायित्वलाई उदयपुरका सञ्चारकर्मीहरुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

महासंघ र काउन्सिलको टोलीसमक्ष सञ्चारकर्मीहरुले आफूहरु उच्च जोखिममा रहेको, स्वास्थ्य सामग्री लगायतका स्रोत साधनको अभाव रहेको, स्वास्थ्य परीक्षणको व्यवस्था नभएको जस्ता समस्याहरु व्यक्त गरेका थिए । जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सरकार र सम्बन्धित सञ्चार गृहले कुनै सहुलियत नदिएको गुनासो टोली समक्ष पत्रकारहरुले गरेका छन ।

प्रदेश नं.२ को पर्सा र बाराका पत्रकारहरुसँगसमेत अनुगमन टोलीले छलफल गरेको छ । टोलीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीसँग भेटेर पत्रकारिताको समस्या र कोरोना नियन्त्रणका लागि भएका प्रयासका बारेमा छलफल गरेको छ । साथै, अनुगमन टोलीले प्रदेश नं.३ को राजधानी मकवानपुरका पत्रकारहरुसँग समेत छलफल गरेको छ । महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा सम्मिलित टोलीले स्थानीय पत्रकारहरुसँग जिल्लाको समग्र अवस्थाको बारेमा अन्तरक्रियासमेत गरेको थियो ।

संक्रमणको त्रासदीपूर्ण अवस्थामा काम गरिरहेका पत्रकारहरुका लागि सरकारले तत्काल राहत तथा सहुलियतको व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य परीक्षणको व्यवस्था गर्न र स्वास्थ्य सामाग्रीलगायतको पूर्वसर्तकताका साधन तत्काल व्यवस्था गर्नुपर्ने निष्कर्ष टोलीको छ ।

संक्रमित पुष्टि भएका जिल्लाका पत्रकारहरुका लागि तत्काल सुरक्षितढंगबाट काम गर्ने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित निकायसमक्ष टोलीको आग्रह गरेको छ । सञ्चारगृहहरुले पत्रकारहरुलाई नियमित पारिश्रमिक उपलब्ध गराउनुका साथै विशेष प्रोत्साहनको व्यवस्था गर्नुपर्ने उल्लेख छ । स्वास्थ्य विमाको व्यवस्था, स्थानिय सञ्चारमाध्यमको सञ्चालनमा विशेष राहत र सहुलियतको व्यवस्था गर्नुपर्ने निष्कर्ष टोलीको छ । अनुगमनका क्रममा टोलीले स्थानिय सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु समेत वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *